पोखरा, मंसिर । पोखरामा पहिलोपटक आयोजना हुन लागेको आईटीएफ विश्व टेनिस टुर जुनियर प्रतियोगिता–२०२६ मा २१ राष्ट्रका खेलाडी सहभागी हुने भएका छन्। कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा भोलिदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिब एक सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नवीन चालिसेले अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आईटीएफ) को वरियता तथा ग्रेडिङ प्रणालीअनुसार प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका खेलाडी सहभागी हुनेछन्। विश्व वरियताका आधारमा खेलाडीले सहभागिता जनाउनेछन् भने वरियता प्राप्त खेलाडी तथा छनोट चरण पार गरेका खेलाडीले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पुरुष एकलतर्फ ३२ खेलाडीको सहभागिता रहनेछ। विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलमा पुग्नेले ९, क्वार्टरफाइनलमा पुग्नेले ५ र राउन्ड अफ १६ मा पुग्नेले १ अङ्क प्राप्त गर्नेछन्।
त्यस्तै, पुरुष डबल्सतर्फ विजेताले २४, उपविजेताले १२, सेमिफाइनलमा पुग्नेले ६ र क्वार्टरफाइनलमा पुग्नेले ३ अङ्क प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, जापान, न्युजिल्यान्ड, ताइवान, अस्ट्रेलिया, कोरिया, युक्रेन, बेलारुस, क्यानडा, सिङ्गापुर, हङकङ, मलेसिया, श्रीलङ्का, इन्डोनेसिया, फिलिपिन्स, पाकिस्तान, रोमानिया र साउदी अरेबियाका खेलाडी सहभागी हुनेछन्।
प्रतियोगिताले पोखरालाई अन्तर्राष्ट्रिय खेल पर्यटनको गन्तव्यका रूपमा थप चिनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। साथै स्थानीय खेलाडीले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो खेलकौशल सुधार गर्ने अवसर पाउनेछन्।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा नेपाल टेनिस सङ्घ, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति तथा गण्डकी प्रदेश टेनिस सङ्घका प्रतिनिधिसहित खेल क्षेत्रका व्यक्तित्वलाई आमन्त्रण गरिएको छ।
प्रतियोगिताको प्रवर्द्धनमा पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन्। प्रतियोगिता सञ्चालनका लागि अनुमानित ७८ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।
आईटीएफको नयाँ नियमअनुसार प्रतियोगिता पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक कोर्ट व्यवस्थापन तथा पूर्वाधार निर्माणसमेत गरिएको छ। नयाँ कोर्ट निर्माणका लागि मात्रै १२ लाख रुपैयाँ खर्च भएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला एकल र महिला डबल्स गरी चार विधामा प्रतिस्पर्धा हुनेछ।