काठमाडौं, मंसिर २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शनिबार बस्ने भनिएको सचिवालय बैठक बस्ने कि नबस्ने टुङ्गो लागिसकेको छैन । गत बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहनुभएकाबेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतर्फीरुपमा आजका लागि बैठक बोलाउनुभएको थियो । बालुवाटार स्रोतले दिएको जानकारीअनुसार आजको सचिवालय बैठक अध्यक्षद्वयको सहमतिमा बोलाइएको बैठक नभएकाले बस्ने नबस्ने टुङ्गो छैन । यद्यपि दुवै अध्यक्षले बैठकको तयारी स्वरुप आफ्नो पक्षतर्फ गृहकार्यमा रहनुभएको छ ।
गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्ताव कुण्ठा, आरोप र प्रतिसोधले भरिएकाले फिर्ता हुनुपर्ने माग अध्यक्ष ओलीले गर्नुभएको छ । सो प्रस्तावको जवाफसहितको अर्को प्रस्ताव अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता भएमा बैठक सहजरुपमा अगाडि बढ्ने भनाई अध्यक्ष ओलीको छ । तर अर्का अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिन तयार नदेखिनुभएकाले पार्टी भित्रको आन्तरिक विवाद चुलिएको छ ।
आज दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको सचिवालय बैठकको गृहकार्यका लागि अध्यक्ष प्रचण्ड आफ्ना पक्षका नेताहरुसँग विहान गृहकार्यमा जुट्नुभयो । उहाँले लिखित धारणा बैठकमा पेश गर्ने तयारी गर्नुभएको बुझिएको छ । तर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सचिवालय बैठक बस्न आवश्यक भए पनि बैठकमा अस्वस्थ प्रतिस्पर्धा रोकिनुपर्ने माग गर्नुभएको छ ।