पोखरामा सुपर जनरल टी–२० क्रिकेट लिग हुने

पोखरा, फागुन ११ गते ।के.एन स्पोर्टस प्रालिले सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा यही फागुन १७ गतेदेखि कास्की क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट आयोजना हुने भएको छ । निजी कम्पनीले बैदेशिक कम्पनीसँगको सहकार्य एवं मुख्य प्रायोजनमा पहिलो पटक टी–२० लिग आयोजना गर्ने तयारी गरेको हो ।

सुपर जनरल दुबईस्थित कम्पनी हो । कम्पनीले एक वर्षे सम्झौता गर्दै के.एन स्पोर्टसँग सम्झौता गर्दै मुख्य प्रायोजनको जिम्मेवारी लिएको हो । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने टी–२० मा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन । कास्की, तनहुँ, बाग्लुङसहित चितवन क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाडौ, मिम्समाण्डु क्लब काठमाडौं र स्टन एकेडेमी चितवनले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक कमल थापाले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

 

संयोजक थापाका अनुसार सुपर जनरल पोखरा ११ को टिम क्याम्प गरेरै छनोट गरिने छ । तीन दिने क्याम्प राखेर खेलाडी छनोट गरी पोखराको टोली तयार गरिने पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘खेल पर्यटनको आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ को नारासहित के.एन स्पोर्टसले पहिलो पटक प्रतियोगिता आयोजनामा जुटेको थापाले सुनाए । सुपर जनरलका गण्डकी प्रदेश प्रमुख फैजल अलीले क्रिकेटको विकासमा सहकार्य गर्न पाउँदा खुशी लागेको अभिव्यक्ति दिदैं आगामी दिनमा पनि सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।

 

समूहको विजेता तथा उपविजेताले सेमीफाईनलको यात्रा तय गर्ने छन । पत्रकार सम्मेलनमै प्रतियोगिताका निर्देशक विरेन पुनले कास्की जिल्ला क्रिकेट संघको निस्क्रियताले निजी क्षेत्र क्रिकेट प्रतियोगिताको लागि अगाडि बढ्नुपर्ने बाध्यता आएको जिकिर गर्नुभयो । उहाँले अघिल्लो कार्यसमितिबाटै ओरालिएको क्रिकेट बर्तमान कार्यसमितिमा अझै सुस्ताएकोप्रति चिन्ता व्यक्त गर्दै केवल फोटो झुण्ड्याउने काम मात्रै हुने दावी गर्नुभयो ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ पाउने छ । दोस्रो हुने टोलीको हकमा भने ट्रफी तथा पदक मात्रै पाउने छ । विधागत रुपमा सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्सम्यानलाई आकर्षक पुरस्का प्रदान गरिने छ । पत्रकार सम्मेलनमै नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले प्रतियोगिताको लागि आयोजकले क्यानसँग कुनै स्वीकृति नलिएको स्पष्ट पार्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...