तराई-मधेसमा आज होली मनाइँदै

चैत १६ गते । समानता र निष्छलताको पर्व होली तराई–मधेसमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेगमा ‘फागु’ र मधेसमा  ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । यो प्रेम र स्नेहको चाड पनि हो ।

प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रंग हाल्दै सबैलाई रशरंगले तर्रगित तुल्याउने होली उल्लास र रंगीचंगीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिंगपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।

सबैलाई एउटै रंगमा रंगाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू मुस्लिम, सिख, इसाई, मंगोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमंग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

वैदिक संस्कृतिसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ । यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट सुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...