पछिल्लो तीन सातादेखि लगातार घट्दो क्रममा रहेको शेयर बजार १५ करोबार दिनमा साढे ९ प्रतिशतभन्दा धेरैले घटिसकेको छ। बजार घट्दो क्रममा रहेपनि शेयर बजारमा सूचीकृत केहि कम्पनीहरुको शेयरमूल्य भने बढ्दो क्रममा देखिएको छ।
गत फागुन ९ गते हालसम्मकै उच्च विन्दु २६४० मा पुगेको नेप्से सूचक सोमबारसम्ममा ९.५१ प्रतिशतले घटेर २३८९ विन्दुमा झरेको छ। यस अवधिमा सूचीकृत अधिकाँश कम्पनीहरुको शेयरमूल्य पनि उच्च दरले घटेको छ। यस अवधिमा सूचीकृत कतिपय कम्पनीहरूको शेयरमूल्य २० प्रतिशतसम्म घटेको छ।
पछिल्लो समय देखिएको राजनैतिक अन्यौलता र बैंकिङ् प्रणालीमा तरलता घटदै जाँदा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ। अर्कोतर्फ कोरोनाको कारण ठप्प रहेका अन्य क्षेत्रहरु विस्तारै खुल्दै जाँदा पनि शेयर बजारकाे पैसा बाँडिएको छ।
तर बजारमा यस्ता कम्पनीहरु पनि छन् जुन समग्र बजार घट्दा पनि लगातार उकालो लागिरहेका छन्। यस अवधिमा नयाँ सूचीकृत भएको चन्द्रागिरी हिल्सको शेयरमूल्य त साढे २०० प्रतिशतभन्दा पनि धेरैले बढेको छ। यस अवधिमा उसको शेयरमूल्य २६१.३३ प्रतिशतले बढेको हो।
यता विद्युत उत्पादनको मिति नजिकिएसँगै अपर तामाकोशीको शेयरमूल्य पनि उच्च दरले बढेको छ। अपरको शेयरमूल्य बढेसँगै समग्र हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको लगानीकर्ताहरु बताउछन्। जसले गर्दा अन्य हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा समेत सकारात्मक सुधार देखिएको छ।
घलेम्दि हाइड्रोपावरको शेयरमूल्य ३० प्रतिशतले बढेको छ भने रैराङ हाइड्रोपावरको २६ प्रतिशत पञ्चकन्या हाइड्रोपावरको २५ प्रतिशतले शेयरमूल्य बढेको छ।
यता व्यापार उपसमूहको साल्ट ट्रेडिङ कर्पाेरेशनको शेयरमूल्य समेत २५ प्रतिशतभन्दा धेरैले बढेको छ। उसको शेयरमूल्य प्रतिकित्ता १४ करोबार दिनमा ८ हजार ५५० बाट बढेर १० हजार ७२० रुपैयाँ पुगेको छ।
त्यस्तै, माइक्रोफाइनान्स उपसमूहको मेरो माइक्रोफाइनान्सको शेयरमूल्य पनि ८.३३ प्रतिशतले बढेको छ। यस अवधिमा लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १ हजार १५३ रुपैयाँबाट बढेर १ हजार २४९ रुपैयाँ पुगेको छ।
फाइनान्स उपसमूहको युनाइटेड फाइनान्सको शेयरमूल्य ६ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ। लगानी उपसमूहको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ।