नेपालगन्ज, चैत ६ गतेएन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले लिगमा पहिलो पटक १ अंक जोडदै खाता खोलेका छन ।नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लेकालीको तर्फबाट भुपेन्द्र शाहीले ४७ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । खेलमा लेकाली युवा क्लबका गोलकिपर पुजन होना म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
झापा प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेल बराबरी भएको बताए । उनले भने,‘सुरुमा आज गोल गर्न हामीले धेरै समय पर्खनु प¥यो । खेलाडी घाइते भएका बेला हामीले गोलको सामना गर्नु प¥यो । त्यो भन्दा आज हाम्रो लागि पेनाल्टीमा गोल गर्न नसक्नु अर्को गल्ती भयो ।’दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलकिपर उज्वल होनाले रोक्न सफल भएका थिए । खेलाडीहरु अन्य प्रतियोगिताको व्यस्त भएर पनि समस्या भएको प्रशिक्षक कटुवालले बताए ।
लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकोले खेलमा सुधार हुँदै गएको बताए । उनले भने,‘सूरुमा टिमका खेलाडीबिच एक अर्कामा राम्ररी परिचय पनि थिएन । कसले कस्तो खेल्छ भन्ने थाहा थिएन । पहिलो खेलमा धेरै गोलको सामना गरेपछि हामी रक्षात्मक रणनितिमा खेल्ने योजनामा थियौं । जुन सफल पनि भयो ।’लेकालीका कप्तान संगम शाहीले टिमको समन्व मिल्दै गएकोले खेल सुधार हुदै गएको बताए ।शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रदेश नम्बर –२ को मनकामना युवा क्लब रौतहट र बागमति प्रदेशको धादिङ समाज (धादिङ) बिच प्रतिस्पर्धा हुनेछ ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।
सम्बन्धित खवर
टिप्पणिहरु