काठमाडौं, चैत्त १८ गते । नेपालमा कोरोनाभाइरसको दोस्रो चरणको लहर आउने सम्भाबना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. बिराज कर्माचार्यका अनुसार पछिल्लो तीन चार दिनदेखिको ट्रेन्डले कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको र यसले दोस्रो लहर आउने हो की सम्भाबना बढेको छ ।
दोस्रो लहरको संकेत
गत् सोमबारदेखि बुधबारसम्म दश हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै तीन हजार ९१९ जनाको परीक्षण गरिएकोमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
बिगत्मा भारतमा कोरोना सङ्क्रमण बृद्धि भएको एक महिनापछि मात्रै नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । भारतमा फागुन अन्त्यमा चौबीस घण्टामा थपिने सङ्क्रमित १२ हजारमा सीमित भएको थियो । तर एक महिना नबित्दै दैनिक रुपमा थपिने सङ्क्रमित करिब ६० हजार पुगेको छ । भारतमा तीन साताको तुलना गर्दा सङ्क्रमण वृद्धि दर पाँच सय प्रतिशतले बढेको देखिन्छ ।