गायक प्रविण गुरुङको शालिक अनावरण,सष्टालाई सम्मान

पोखरा, चैत २० गते । लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा शुक्रवार एक कार्यक्रमका बीच उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा सष्टा सम्मान गरिएको छ ।सो अवसरमा बाटुलेचौर निवासी स्वः धनबहादुर गायकलाई मरणोप्रान्त तथा लेकाली व्याण्डका भोकलिष्ट अन्नपूर्ण निवासी नविन गुरुङ र गायक जीवन दाहाललाई सम्मान गरियो ।

उनीहरु नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मानित भए ।कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज कुँवरले स्वः गुरुङको अर्धकदको शालिकको अनावरण पनि गरे ।लुम्ले स्थित रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजको आयोजना तथा गाउँपालिकाको विशेष सहयोगमा कार्यक्रम गरिएको हो।

त्यस अवसरमा धारणा राख्दै गाउँपालिका अध्यक्ष कुँवरले अन्नपूर्ण पर्यटनको राजधानी भए जस्तै संस्कार र संस्कृतिको पनि राजधानी बनाउन पहल भइरहेको बताए ।उनले भने वैज्ञानिक, कलाकार र खेलाडीलाई सबैले चिन्छ त्यसैले पालिकाले उनीहरुको बृद्घि विकासमा सहयोग पनि गर्दछ।

 

अध्यक्ष कुँवरले सानोमा आफूले बस्तुभाउ चराउन जादाँ रेडियोमा स्वः गुरुङका गीत सुनेको स्मरण पनि गरे ।त्यस अवसरमा वडाध्यक्ष चित्रबहादुर गुरुङ, समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सचिव राजु गुरुङ लगायतले पनि गीत संगितको क्षेत्रमा स्वः गुरुङको योगदान बारे चर्चा गरे।

 

कार्यक्रम अन्र्तगत शुक्रवार कलाकार प्रजापति पजाजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, कृष्ण अखेली, तारापति सुवेदी, सविना गुरुङ, शिवहरी ढुङगाना, टेक क्षेत्री, प्रेमराज अधिकारी, अम्बिका भण्डारी, सरिता अधिकारी, स्थानीय जागृति आमा समूह, शिव शक्ति भजन मण्डली, प्रगति आमा समूहले प्रस्तुति राखेका थिए।

प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गरिएको हो।कार्यक्रम अन्र्तगत दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता सुनगाभा कप पनि भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...