पोखरा, बैशाख ५ गते । नविन रसाइलीले २०६५ साल देखि कराँते खेल्न सुरु गरेका थिए । सानैदेखि कराँतेमा चासो राखेका रसाइलीले आफनो खेल जीवनलाई निरन्तरता दिए । धैर्यता, खेलप्रतिको लगाबले उनले १३ औ दक्षिण एसियाली खेलकुद(साग)मा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरे । उनले सागमा नेपाललाई स्वर्णपदक जिताउन सफल भए । उनले त्यो क्षणलाई जीवनको महत्वपूर्ण उपलब्धि ठानेका छन् । तीनै रसाइली नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदशले आयोजना गर्ने पाँचौं स्पोर्टस अवार्डको वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । मञ्चले सार्वजनीक गरेको मनोनयमा परेका उनी आफुलाई भाग्यमानी ठान्छन् । खेलकुद पत्रकार मञ्चले गर्ने अवार्डको मनोनयनमा पर्नु मेरा लागि ठुलो अवसर हो उनले भने । मञ्चले यही बैशाख २० गते अवार्ड वितरण गर्ने छ ।
उनले आफनो बालापनको सपना साकार पार्ने यात्रा निकै संघर्षपूर्ण रहेको बताउछन् । ‘खेल सुरुआत गरेदेखि यहाँसम्मको यात्रा निकै रमाइलो र दुखपुर्ण रहयो,’ उनले भने,‘यो स्थान हाँसिल गर्नका लागि बिचबिचमा निकै सङ्घर्षपूर्ण दिनहरु पार गरियो ।’
यद्यपी सानैदखि कराँते खेल्दै आएका उनी खेलक्षेत्रबाट सन्तुष्ट रहेको बताउँछन् । तरपनि सम्रगमा नेपालमा खेलक्षेत्रमा भविष्य बनाउन असहज रहेको उनको बुझाइ छ । खेलमै लागेर जिविकोपार्जन गर्छु भन्नु कतिपय खेलाडीका लागि असम्भव रहे पनि उनले यसैलाई जीवनयापनको आधार बनाउने योजना बताएका छन् ।
उसो त नेपालमा खेलाडीको अवस्था निकै नै संघर्षपूर्ण र असहज छ । सरकारले समेत खेललाई प्राथमिकतामा राखेको पाइदैन तर रसाइली पनि त्यही लाग्छ । ‘साफ गेम जितेका बाहिरका खेलाडी साथीहरुले राम्रो अवसर पाएका छन् ।’ उनी भन्छन्,‘ हामीलाई भने गेम जित्दाको १,२ महिनासम्म सबैले बधाई र सम्मान गर्छन । त्यसपछि पुरानै सङ्घर्षपूर्ण परिस्थिीतिमा फकिन्छौं ।’
उनी खेलक्षेत्रमा ‘राम्रोलाई भन्दा हाम्रोलाई हेर्ने प्रवृत्ति’ रहेको बताउँछन् । साथै खेलक्षेत्रमा राजनिति समेत उत्तिकै भएका कारण खेलाडीलाई असहज हुने उनको गुनासो छ ।
नेपालको खेलक्षेत्र देखेर कहिलेकाही छोड्ने मनाशयमा समेत पुगेको उनी सुनाउँछन् । ‘नेपालको खेलक्षेत्रको अवस्था देख्दा हामी खेलाडीलाई दिक्क लाग्छ,’ उनी सुनाउँछन्,‘एसियन गेम्सको बेला नर्भस नै भएको थिए । खेलौं कि नेखलौं भनेर त्यतिबेला छोडेको भए छोड्या छोडेइ हुने रहेछ तर अहिले राम्रो भएछ ।’
तर खेल्न सुरु गरेपछि छोड्न नसक्ने उनको अनुभव छ । त्यसमाथि उनलाई उनको परिवारबाट पनि उत्तिकै साथ र सहयोग छ । उनको ठुलो दाइ समेत कराँते खेलाडी हुन् । खेल जीवनको नरमाइलो र अप्ठ्यारो पाटो सम्झिदा रसाइली २०१८ मा इन्डोनेसियामा आयोजित एसियन गेमलाई कहिल्यै बिर्सिन्न् । अझैपनि उनी त्यतीबेलाको समयलाई नरमाइलो क्षणका रुपमा सम्झन्छन् ।
२०१८ मा आयोजित एसियन गेम अन्तर्गत उनी कराँतेमा छनोट भएका थिए । पहिलोपटक राष्ट्रिय खेलाडीका रुपमा सहभागी हुन लागेको खेलको अन्तिम चरणमा बाहिरिनु परेको थियो । खेलका लागि बस्नु पर्ने दुईमहिने ‘क्याम्प’मा नबसेका कारण उनी खेल्न पाएनन् ।
यतिबेला रसाइली दैनिक ट्रेनिङ सेन्टरमा व्यस्त छन् । उनको अबको लक्ष्य र तयारी ओलम्पिक गेम्स हो । २०२० मा हुने भनिएको ओलम्पिक २०२१ मा हुँदै छ । त्यसैको तयारीका लागि रसाईली बिहान ललितपुरमा नेशनल टिमसँग ट्रेनिङ गर्छन् । त्यसलगत्तै दिउँसो बालाजु कराँते एकेडेमीमा टे«निङमा व्यस्त हुन्छन् । ‘तयारी राम्रो चलिरहेको छ राम्रो अपेक्षा छ,’ उनले भने । ०५३ फागुन १८ गते बागलुङमा जन्मिएका उनी सानैदेखि काठमाडौं बसे । खेलमा समेत परिवारको उत्तिकै साथ र सहयोग प्राप्त गरे । राष्ट्रिय र अन्तराष्ट्रिय खेल हुँदै उनको लक्ष्य ओलम्पिकसम्म पुगेको छ ।
यसरी खेलाडीले राष्ट्रको लागि खेलेर नाम कमाएपनि सरकारले नहेरेकोमा भने उनी दुखेसो पोख्छन् । सरकारले खेलाडीलाई आवश्यक सामान्य प्रशिक्षण गर्ने हल, खेलाडीका लागि फस्ट एड् किट समेत उपलब्ध गर्न नसकेको दुखेसो गर्छन् । ‘हामी खेलाडीले जित्ने भनेको सरकारले जित्ने हो । खेलाडी बाहिर गएर राष्ट्रिय झण्डा फरफराउँदै जित्दा नेपालले जित्ने हो,’ उनले भने,‘ त्यसैले सरकारले खेलाडीका लागि राम्रो अवसर सिर्जना गरिदिर्नुर्छ ।’