पोखरा, असार १० गते ।स्टेप बाई स्टेप माध्यामिक विद्यालयले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पोखरामा गण्डकी प्रदेश स्तरीय तेस्रो एसईई फुटसल प्रतियोगिता आयोजना गरेको छ ।संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालले संयुक्त रूपमा एन्फाका रेफ्रीहरूलाई बल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले शिक्षासँगै खेलकुदमा युवाहरुको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिँदै विद्यालयले पढाइका साथै खेलकुदलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । संस्थापक प्राचार्य निर्मला बरालले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा मद्दत पु¥याउने तथा भाइचाराको विकास गर्ने कुरा बताउँदै खेलाडीहरूलाई शुभकामना दिनुभयो ।
बुधबारसम्म चल्ने प्रतियोगितामा कास्की, तनहूँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागी भएका छन् । त्यसरी नै आजका खेलहरूबाट स्टेप बाई स्टेप ‘ए’, ऐपेक्स् एफसी, मुखिया एफसी, वेल नन्न ऐकेडेमी, दिपक एफसी, एमबेस्डर पोखरा, खरबारी एफसी र रबीन एफसी विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेका छन् । क्वाटर फाइनल, सेमी फाइनल र फाइनल खेल बुधबार सम्पन्न हुने करा बताइएको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसँगै ट्रफी, मेडल, प्रमाणपत्र र कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति समेत पाउनेछन् । उपविजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्रसँगै कक्षा ११ र १२ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने तथा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा छात्रवृत्ति र नगद पुरस्कार पाउने कार्यक्रमका संयोजक तथा विद्यालयका सहप्राचार्य दिपक गिरीले जानकारी गराएका छन् ।