पोखरा । गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरामा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ। प्रतियोगिता यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुनेछ।

नेपाल टेनिस संघको स्वीकृति तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा देशभरबाट ८ देखि १८ वर्षमुनिका ४३ जना बालक तथा बालिका खेलाडी सहभागी हुने गण्डकी प्रदेश टेनिस संघले जनाएको छ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका खेलाडीबीच एकल तथा युगल विधामा प्रतिस्पर्धा हुनेछ। विभिन्न उमेर समूहका विजेता खेलाडीलाई आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ।
राष्ट्रिय स्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान, टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको संघले जनाएको छ।
गण्डकी प्रदेश टेनिस संघले स्थापनाकालदेखि नै जुनियर खेलाडीको प्रशिक्षण र उत्पादनलाई प्राथमिकतामा राख्दै आएको छ। संघका अनुसार पछिल्लो तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन्। केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन्।
संघले जुनियर टेनिस प्रशिक्षणलाई थप व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा समेत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रतिभावान बालबालिकाको पहिचान गरी गुणस्तरीय प्रशिक्षण, प्रतियोगितामा सहभागिता र आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने संघले जनाएको छ।
पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङ्कुलिटी स्पाले गरेको छ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
गण्डकी प्रदेश टेनिस संघले प्रतियोगिता सफल बनाउन सञ्चारमाध्यम, खेलकुदकर्मी, खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालासँग सहयोग र प्रचारप्रसारका लागि आग्रह गरेको छ।