कांग्रेस कास्की–१ ले सुत्केरीलाई कुखुराको भाले र शिशुलाई कपडा दिने

पाेखरा ।नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय कार्यसमितिको नवनिर्वाचित समितिले पदभार ग्रहण गरेपछिको पहिलो बैठकबाट एक वर्षसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । क्षेत्रीय सभापति सरोज केसीको अध्यक्षतामा बसेको बैठकले मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अभियान अघि बढाउने निर्णय गरेको सभापति केसीले जानकारी दिए ।अभियानअन्तर्गत बच्चा जन्मिएको ११ दिनभित्र सहयोगको आवश्यकता महसुस गरी सम्पर्कमा आउने लक्षित परिवारलाई सम्भव भएसम्म २४ घण्टाभित्र सहयोग उपलब्ध गराइनेछ । सुत्केरी आमाको पोषणका लागि स्थानीय लोकल कुखुराको एउटा भाले तथा नवजात शिशुका लागि मौसमअनुसार उपयुक्त दुईदेखि तीन थान नयाँ कपडा उपलब्ध गराउने निर्णय गरिएको सभापति केसीले बताए ।

उनका अनुसार आर्थिक रूपमा अत्यन्त विपन्न अन्य परिवारलाई पनि आवश्यकताका आधारमा सहयोग गर्न सकिनेछ । सहयोगको वास्तविक आवश्यकता र उपलब्ध स्रोतलाई आधार बनाएर कार्यक्रम सञ्चालन गरिनेछ ।

अभियानका लागि क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको स्वैच्छिक योगदान र इच्छुक शुभेच्छुकहरूको सहयोगबाट स्रोत जुटाइनेछ । सहयोग प्राप्त गर्न कुनै राजनीतिक आबद्धता वा पार्टी सदस्यताको सर्त नराखिने बैठकको निर्णय छ ।

सहयोग आवश्यक पर्ने परिवारले सहज रूपमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइने र कार्यक्रमलाई पारदर्शी, निष्पक्ष तथा सेवामुखी बनाउन आवश्यक कार्यविधि तयार गरिने पनि निर्णय गरिएको छ । सहयोगको अभिलेख राख्ने र कार्यक्रमको नियमित समीक्षा गर्ने व्यवस्था मिलाइने सभापति केसीले जानकारी दिए ।

अभियानको उद्देश्य विपन्न परिवारका सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सानो भए पनि व्यावहारिक सहयोग पुर्‍याउनुका साथै मातृ–शिशु पोषण र आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनु रहेको कांग्रेस कास्की क्षेत्र नं। १ ले जनाएको छ ।

राजनीतिक स्वार्थभन्दा माथि उठेर मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनासहित अभियान सञ्चालन गर्ने निर्णय गरिएको सभापति केसीको भनाइ छ ।

कांग्रेसलाइ समुदायसँग जोड्ने यस अभियानले सुत्केरी आमा र नवजात शिशुको हेरचाह तथा पोषणमा समुदायस्तरबाट सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...