काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

गृह मन्त्रालयले शुक्रबार (कात्तिक १३ गते) सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशन बारम्बार पालना नगरेको पाइएको छ। त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको मन्त्रालयको सूचनामा उल्लेख छ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशनअनुसार काम भएको नदेखिएपछि संस्थालाई निलम्बन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।