नेपालगञ्ज, वैशाख २८ गते । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना सङ्क्रमितको मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरी थप १५ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार उनिहरुको मृत्यु सोमबार रातीदेखि मङ्गलबार दिउँसोसम्म भएको हो ।उहाँका अनुसार मृत्यु हुनेहरुमा बासगढी नगरपालिका–९ बर्दियाका ७३ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिक–१० बाँकेका ६८ वर्षीय पुरुष, गुलरिया नगरपालिका–६ बर्दियाका २१ वर्षीय पुरुष, सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुष हुनुहुन्छ ।
त्यस्तै बारबर्दिया–६ बर्दियाका ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका–४ बाँकेका ४५ वर्षीय महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ७८ वर्षीया महिलाको समेत कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसैगरि कञ्चनपुर पुनर्वास ३ का ६१ वर्षीय पुरुष, बासगढी बर्दियाकी ४२ वर्षीया महिला र ठाकुरबाबा ३ बर्दियाका ४५ ववर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
सोही प्रकारले बासगढी नगरपालिका–५ बर्दियाका ६० वर्षीय पुरष र कोहलपुर नगरपालिका–८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा बढैयाताल–१ बर्दियाका ८५ वर्षीय पुरुषको समेत कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसैगरि एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएर होम आइसोलेसना बस्नुभएका खजुरा गाउँपालिका–२ बाँकेका ८८ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १४८ जना र बाँकेकै १९७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।