पोखरा, असार २७ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार विज्ञप्ति जारी नयाँ भेरियन्ट फेला परेको जनाउदै सर्तकता अपनाउन अनुरोध गरेको छ ।
गण्डकी प्रदेशका स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ति अनुसार ती जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।
स्याङ्जाको कालिगण्डकीका २ पुरुष र गोरखा बारपाक सुलिकोटका ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोध समेत गरेको छ ।