पोखरा, असार २९ गते । गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्धको १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल खोप आजदेखि लगाइँदै छ । नवलपरासी, म्याग्दी, मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा खोप पुगिसकेको छ ।
नवलपरासी र म्याग्दीका लागि गाडीमा पठाइँदै छ भने मनाङ र मुस्ताङका लागि हेलिकप्टरमा पठाउने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक खिम बहादुर खड्काले जानकारी दिनुभयो ।५० देखि ५४ वर्ष उमेर समूहका मानिस तर पहिलो डोज लगाउन बाँकी भएकाहरूले पाउनेछन् । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।
‘क’ र ‘‘ख’ वर्गका अपांगता भएका व्यक्तिलाई जोन्सन एण्ड जोन्सनको खोप लगाइने छ भने नेपालमा बसिरहेका शरणार्थीलाई पनि अमेरिकी खोप नै लगाइने छ । यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि यही खोप लगाउने छन् । गण्डकीमा यो लक्षित समूहका करिब १ लाख ५५ हजार जना रहेको खड्काले बताए । त्यसमा यसअघि लगाइसकेका मानिसको संख्या घटाउँदा लक्षित समूह सबैलाई पुग्ने खड्काको भनाइ छ ।
गण्डकीमा करिब २ लाख २० हजारले पहिलो डोज लगाइसकेका छन् । करिब ६१ हजार जनाले दोस्रो डोज पनि लगाइसकेका छन् ।