गण्डकी सरकारद्वारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

पोखरा, साउन ७ गते ।गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई एक कार्यक्रमका बिच विहिबार हस्तान्तरण गर्नुभयो ।


प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई छिटो छरिदो एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती दिलाउन गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र १ थान बस हस्तान्तरण गरिएको बताइएको छ ।

 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको सफलता र असफलताको आधार नै शान्ति सु–व्यवस्था र सु–शासन भएको बताउँदै प्रदेश अन्तर्गत प्रहरीलाई चुष्तदुरुष्त, संगठित र सक्षम बनाउन प्रहरीको सवलीकरण अपरिहार्य रहेको बताउदै प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड–१९ व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान, भौतिक संरचनाको अवस्था, सुरक्षा चुनौतीहरु साथै प्रदेश सरकारसँगको समन्वय र अपेक्षाका विषयमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मी, गण्डकी प्रदेश कानून, सञ्चार तथा प्रदेश सभा मार्मिला मन्त्रालयका सचिव केदारनाथ शर्मा, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...