पोखरा, साउन २८ गते। नेपाली राष्टिय फुटबल टिमको बन्द प्रशिक्षण आजबाट पोखरामा सुरु हुदैछ । बन्द प्रशिक्षणका लागि राष्ट्रिय टिमका खेलाडीहरु पोखरा आइसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का संयोजक कृष्णभक्त मानन्धरको नेतृत्वमा २७ सदस्यीय फुटबल टोली मंगलबार साँझ पोखरामा आएको हो ।
मंगलबार पोखरा आएको टिमले बुधबारबाट प्रशिक्षण गर्ने भनिएपनि कारणबस स्थगित भएको र आज बिहिबारबाट सुरु हुने अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो ।टिमले पोखरा रंगशाला, सहारा एकेडेमीको खेल मैदान र बिजयपुर ब्यारेकको मैदानमा तीन हप्ता प्रशिक्षण गर्ने उहाँले बताउनुभयो । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रशिक्षण दिनुहुने छ ।
प्रशिक्षक अल्मुताइरी सहित फुटबल टोली लेकसाईड होटल मुनलाईटमा बसेकोछ । २७ जना आएपनी बन्द प्रशिक्षणमा भने कुल ३८ जना रहेका छन् । नेपाली टिम अहिले साफ च्याम्पियनसिप र चीनमा हुने एएफसी कप छनोटको अन्तिम चरणको तयारीमा रहेको छ । राष्ट्रिय टिमको प्रशिक्षण पोखरामा हुनु राम्रो भएको अध्यक्ष गुरुङले बताउनुभयो । राष्ट्रिय टिमको प्रशिक्षणसंगै पोखराको फुटबल विकासमा समेत टेवा पुग्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो।
पोखरा आएको राष्ट्रिय फुटबल टिमका खेलाडी र प्रशिक्षकलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको थियो। कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ र एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले खादाँ लगाएर स्वागत गर्नुभएको थियो ।
((