पूर्व प्रधानमन्त्री भटराई र गण्डकी मुख्यमन्त्रीवीच भेट,गठबन्धन मजबुत बनाउन जोड

पोखरा, भदौ १५ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच मंगलबार भेट भएको छ । मुख्यमन्त्री निवासमै भएको भेटघाटमा पूर्वमन्त्री भट्टराईले प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिका बारेमा जानकारी दिए । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईका साथमा उक्त पार्टीका गण्डकी प्रदेश संयोजक मोति रिजाल, गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य थिए ।


विषेश राजनीतिक परिवेशमा प्रदेश र संघमा गठनबन्धनको सरकार बनेको र सानातिना मतभेदलाई पन्छाउँदै अगाडि बढ्नुपर्नेमा दुवैजनाको जोड थियो । मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको बताए ।

प्रदेशको क्षमता अनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि संघ सरकारबाट थप रकमको अपेक्षा गरिएको उनको भनाइ थियो । बाढीपहिरोका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनर्निर्मााणका लागि संघ सरकारको भर परेको मुख्यमन्त्री पोखरेलले बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्ने बारेमा आफूहले निरन्तर छलफल गरिरहेको भनाइ राखे । यो सरकारलाई असफल हुने छु नरहेको भन्दै उनले ससाना मतभेदलाई भित्रै मिलाएर लैजान उनले सुझाए । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान उनले आग्रह गरे । प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि जेठ २३ मा नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गठवन्धन सरकार बनेको छ । गठवन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकजना स्वतन्त्र सांसद छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...