पोखरा । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका दुई युवकको उद्धारपछि मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३९ वर्षीय राजु कुमाल रहेका छन्।
घरको जग खन्ने क्रममा माटोको ढिस्को खसेर उनीहरू पुरिएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजितकुमार यादवको कमान्डमा १३ जनाको विपद् व्यवस्थापन टोली उद्धार सामग्रीसहित दिउँसो ३ः१० बजे घटनास्थलमा खटिएको थियो।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी र स्काभेटरको सहयोगमा तत्काल खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। खोजीका क्रममा विक्रमलाई साँझ ४ः३० बजे र राजुलाई ६ः०५ बजे माटोले पुरिएको अवस्थामा अचेत फेला पारिएको थियो।
उनीहरूलाई नेपाल प्रहरीले थप उपचारका लागि पोखरा महानगरपालिका–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
