पोखरालाई खेलकुद सहरका रुपमा परिचित गराउनुपर्छ :कार्यबाहक प्रमुख गुरुङ

राष्ट्रिय उपमेयर कपमा सहभागीता जनाउने पोखराका खेलाडीको विदाई

पोखरा, कात्तिक ८ गते । काठमाडौमा आयोजना भैरहेको उपमेयर कप राष्टिय फुटबल लिग प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाको महिला फुटबल टिमलाई बिदाई गरिएको छ । पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सोमबार विदाई गर्नुभएको हो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विदाई गदै ट्रयाक सुट र नगद हस्तान्तरण गरेर विदाई गर्नुभयो । उहाँले पोखरालाई पर्यटनसंगै खेलकुदको सहरका रुपमा विकास गर्ने योजना सहित खेलकुद विकास समिति गठन गरेर अगाडी बढेको बताउदै पोखरालाई खेलकुद सहरका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।


पोखरा फेवाताल र माछापुच्छे हिमालका माध्यबाट परिचित हुदै आएको छ उहाँले भन्नुभयो, ‘अव पोखरालाई खेलकुद सहरका रुपमा परिचित गराउनुपर्छ ।’ उहाँले खेलाडीहरुलाई राम्रो खेल प्रर्दशन गर्न आग्रह समेत गर्नुभयो ।‘अनुशासित रुपमा खेल प्रर्दशन गरेर पोखराको इज्जत प्रतिष्ठा कायम राख्नुहोला ।’ पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपबहादुर गोदारले खेलाडीहरुले राम्रो खेल प्रर्दशन गरे महानगरले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले खेलमा अनुशासन सवैभन्दा ठूलो हुने बताउनुभयो ।टिमका प्रशिक्षक शम्भु केसीले टिम राम्रो रहेको बताउदै उपाधि जित्ने विश्वास ब्यक्त गर्नुभयो । ‘खेलाडीहरुले दुई महिनादेखि प्रशिक्षण गरेका छन् । टिम राम्रो छ । त्यसैले जित्छौ ।’ टिम क्याप्टेज पार्वती रानामगरले आफनो टिमले धेरै मेहनत गरेका कारण उत्कृष्ट खेल प्रर्दशन गर्ने विश्वास ब्यक्त गर्नुभयो ।


कात्तिक ४ गतेदेखि सुरु प्रतियोगितामा देशभरका ३१ टिमको सहभागी रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा विजेता टिमले ५ लाख, उपविजेता टिमले ३ लाख ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...