पोखरा, मङ्सिर २४ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि काठमाडौमा सुरुहुदै छ । काठमाडौको भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनको तयारी पुरा भएको छ । काँग्रेस महाधिवेशनको उद्घाटन मञ्च २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुुहुनेछ ।
उद्घाटन समारोहमा सम्बोधनका लागि काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आएका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहने काँग्रेसले जनाएको छ । विभिन्न देशबाट महाधिवेशनको सफलताको कामना गर्दै पठाइएका सन्देश पनि वाचन गरिनेछ । महाधिवेशनको सबै तयारी पूरा भएको केन्द्रीय सदस्य एवं सञ्चार तथा सूूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुुभयो ।
काँग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा. प्रभु बुढाथोकीले बताउनुुभयो । समारोहमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले शुभकामना मन्तब्य राख्ने बताइएको छ ।
त्यत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पनि उद्घाटन समारोहमा आमन्त्रण गरिएको र उनीहरुले पनि शुभकामना दिने बताइएको छ ।
नेपाली काँग्रेसको महाधिवेशनमा समेत नीति भन्दा नेतृत्व चयननै प्रधान देखिएको छ । काँग्रेस नेता कार्यकर्ता र प्रतिनिधिहरुको ध्यान नेतृत्वमैे केन्द्रीत छ ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको नयाँ नेतृत्व चयन भएपछि नीति अधिवेशनमार्फत पार्टीका नीति, दृष्टिकोण र कार्यक्रममाथि बहस गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई बदल्ने, परिवर्तित गर्ने र समयसापेक्ष रूपमा परिमार्जित गर्दै लाने विषयमा हामी प्रस्ट छौँ । महाधिवेशनबाट नेतृत्व चयन गरेपश्चात् नीति अधिवेशनमार्फत पार्टीको रणनीतिक विषयमा बहस हुनेछ ।”