पोखरा, माघ १७ गते ।पोखराको फेवाताल अतिक्रमण गरी अवैध रुपमा संरचना निर्माण गर्ने क्रम बढेको छ । फेवाताल किनारमा रहेका खाली जग्गामा ब्यवसायी र व्यक्तिले अतिक्रमण गदै भौतिक संरचना निर्माण गरिरहेका छन् । महानगरपालिका कार्यालय विदा र बन्द भएको मौका छोपेर संरचना निर्माण भैरहेका छन् ।
पोखरा १८ खपौदीमा अवैधर रुपमा ताल किनाराको खाली जमिनमा संरचना निर्माण गरिएको छ । फेवा किनारमा रहेको जग्गामा होटल व्यवसायीले पार्किंङ बनाउने योजना सहित पर्खाल लगाएर सम्याउने काम गरिएको छ । पोखरा महानगरले कोरोना भाइरस संक्रमणका कारण कर्मचारी संक्रमित भएको भन्दै सेवा स्थगन गरेको सुचना प्रकाशित भएपछि व्यवसायीले फेवा किनार खपौदीमा सरंचरना निर्माण गरेका हुन् ।
अवैध रुपमा संरचना निर्माण भैरहेको जानकारी पाएपछि पोखरा महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पोखरा महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले अवैध संरचना निर्माण रोक्न नगर प्रहरी खटाउन आदेश दिए लगत्तै दुई जनालाई खटाइएको छ ।
त्यस्तै अवैध रुपमा निर्माण भैरहेका संरचना निर्माण स्थलको पोखरा महानगरपालिका प्रवत्ता धनबहादुर नेपाली, पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापा सहित प्राविधि र कर्मचारीले स्थलगत अवलोकन गर्नुभयो । अवलोकनपछि महानगरका प्रवत्ता नेपालीले अवैध रुपमा निर्माण गरिएका संरचना भत्किने बताउनुभयो । ‘जहाँ संरचना निर्माण गनै पाइदैन त्यहाँ महानगर बन्द र विदा भएको मौका छोपेर निर्माण गरिएको छ ।यस्ता संरचना भत्काउने बाहेक अर्को विकल्प छैन् ।’