पोखरा विश्वविद्यालयको १७ औं दिक्षान्त समारोहमा गोल्डमेडलिस्ट छात्रा पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) की बिनु श्रेष्ठसहित अन्य ९ जना डिनको लिस्टमा पर्न सफल विद्यार्थी दिक्षीत भएका छन् ।
कुल ११ हजार २ सय ६८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । स्नातक तहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक प्रदान गरिएकोमा पीसीएमकी बिनु श्रेष्ठले पनि उक्त पदक प्राप्त गरिन् ।
डिनको लिस्टमा पर्न सफल हुनेहरुमा पीसीएमका अनुषा शर्मा, अनिषा रिमाल, खगिश्वरा ढकाल, रीमा गुरुङ, निश्चल श्रेष्ठ, अनुषा पराजुली, सुष्मा गुरुङ, सीमा न्यौपाने र रीना गुरुङ छन् । पीसीएमले पनि सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ ।
गोल्ड मेडलिस्ट बिनु श्रेष्ठ नेपालको औद्योगिक घराना लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्यापदक २०७८ बाट पुरस्कृत भइसकेकी छन् । व्यवस्थापन संकाय अन्तर्गत स्नातक (बिबिए) तर्फ उत्कृष्ट अंक ल्याएकी हुन् । बिनुले ३.९९ सिजिपिए ल्याउँदै पदक प्राप्त गरेकी हुन् ।
पोखरा विश्वविद्यालयको प्राङ्गण, पोखरा ३०, खुदी ढुङ्गेपाटनमा आयोजित १७ औं दीक्षान्तको विशेष समारोहमा २०७५ चैत २० गतेपछि २०७८ साल फागुन महिनाको १ गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रमका तहपार गरेका दिक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ४सय ९४ जना र स्नातकतहमा २ हजार ५ सय २१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ जना र स्नातकतहमा १ हजार १४ जना छन् ।
त्यसैगरी, मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तरतहमा ९३ जना र स्नातकतहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तर तहमा १ हजार ६ सय ९६ जना र स्नातकतहमा ५ हजार २ सय ५ जना विद्यार्थी दीक्षित भएका छन् ।
दिक्षान्तमा विभिन्न विधाका ९ सय ३१ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन संकायको स्नातकोत्तरतहमा २ सय १९ जना र स्नातकतहमा ३ सय ९० जना, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा १८ जना र स्नातकतहमा ९५ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ५७ जना र स्नातकतहमा १ सय ३६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिल तहमा ५ जना, स्नातकोत्तरतहमा ६ जना र स्नातकतहमा ५ जना विद्यार्थी छन् ।
दिक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातक तहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै, कम्प्यूटर एप्लिकेशन स्नातकतहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिईएम गोल्ड मेडलबाट विभूषित गरिएको थियो ।