माओवादीद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

 फागुन २३ गते । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री पाण्डेले मङ्गबार सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि अबको ३० दिनभित्र गण्डकी सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

 

संसदीय दलको बैठकको निर्णयपछि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले समर्थन फिर्ता लिएको पत्र प्रदेशबिच हरिराज पोखरेललाई बुझाउनुभयो । चुमान माओवादी केन्द्रबाट मुख्यमन्त्रीका आकाङ्क्षीसमेत हुनुहुन्छ ।

 

“नयाँ गठबन्धन बनेपछि पनि हामी सरकारमा थियौँ, उहाँहरूले हाम्रा मन्त्री बर्खास्त गरेपछि हामीले समर्थन दिइराख्नु जरुरी देखिएन” चुमानले भन्नुभयो । उहाँले नेपाली कांग्रेसबाहेक गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग नयाँ सरकार गठनबारे छलफल भइरहेको बताउनुभयो ।

 

यसअघि माओवादीले त्याग गरेको जनाउँदै उहाँले अब गण्डकीमा माओवादीले नेतृत्व पाउने दाबी गर्नुभयो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका सभामुखसहित आठ सांसद छन् । नेपाली कांग्रेसका २७, एमालेका २२, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सदस्य छन् । यहाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...