प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

पक्षमा बहुमत मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार संसद बैठकबाट विश्वासको मत लिनुभयो ।

 

विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

 

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिनुभएको थियो । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन त्यागी नेपाली काँग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो ।

 

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो । अहिले फेरि काँग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहनुभएकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।

 

अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र ३ सांसदले उहाँलाई पक्षमा विश्वासको मत दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...