फेवा किनारमा नेपाली नयाँ वर्षकाे स्वागतमा महाेत्सव हुने

पोखरा,  चैत ६ गते । होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता प्रदान गरेका छन् ।

महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ वटा उपसमितिहरु गठन गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उपसमितिका संयोजकहरुलाई जिम्मेवारी बाँठफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकहरु समेत तोकिएको छ ।

संघका उपाध्यक्षहरु दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रशारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकालले पाएका छन् । संघका सबै पूर्व अध्यक्ष एवं सल्लाहकारहरुले महोत्सवको अनुगमन गर्ने छन् ।

बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको थियो ।  उक्त खुसियाली तथा महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनाहरुलाई २० प्रतिशत सम्म छुट प्रदान गरिने आयोजक संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।

नेपली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ बर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्धेश्य सहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म यो महोत्सव आयोजना हुने छ । ड्यामसाइडमा समेत स्टल राखी विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने जनाइएको छ । अम्मट र सेन्टर प्वाइन्टमा पनि स्टेज निर्माण गरी कार्यक्रम हुने छन् । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।

बैठकका अवसरमा संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराई, हानका केन्द्रिय सदस्य भरतराज पराजुली, हानका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु गोविन्दराज पहारी, लक्ष्मीवहादुर भट्टराई लगायतले महोत्सवलाई सफल पार्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

 

संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संघका महासचिव राजेन्द्र ढकालले संचालन गरेका थिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...