अन्नपूर्ण ७ मा रहेको हिमालय माविले मनायो स्वर्ण जयन्ती

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेको श्री हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाएको छ । स्व. कृष्णवहादुर गुरुङले २०३१ सालमा अन्नपूर्ण ७ तिर्लुङमा सुरुवात गरेको विद्यालय ५० वर्षमा प्रवेश गरेको पुनित अवसरमा विशेष स्वर्ण जयन्ती समारोह आयोजना गरि धुमधामका साथ शैक्षिक उत्सव मनाईएको हो ।

हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा स्वर्ण महोत्सव मूल आयोजक समिति संयोजक केशवराज दुराको अध्यक्षतामा भएको स्वर्ण जयन्ती समारोह वैशाख १० गते अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुवहादुर केसीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमूख अतिथि केसीले शिक्षाको गुणस्तर सुधार र सरकारी विद्यालय शिक्षा सुधारका निम्ति अन्नपूर्ण गाउँपालिका हमेसा प्रयासरत रहेको र आगामी शैक्षिक सत्रमा अझै प्रभावकारी शैक्षिक प्रतिफलका निम्ति पालिका कडा अनुगनसहितको समन्वयात्मक शिक्षण वातावरणमा समेत तल्लिन रहने बताए । स्वर्ण जयन्ती समारोहमा अध्यक्ष केसीले विद्यालयको शैक्षिक अवस्थामा सुधार गर्न शिक्षक कोटा उपलब्ध गराउने त छदैछ अन्य सवै कदमका निम्ति पालिका तयार रहेको बताए ।

स्वर्ण जयन्ती समारोहमा आयोजित अन्तर विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता समेत सञ्चालन गरिएकोमा अभिमान मेमोरियल मावि प्रथम र हिमालय मावि तोल्का द्वितीय हुन सफल भएको स्वर्ण महोत्सव समारोह खेलकुद कार्यक्रम संयोजक तथा स्थानीय युवा समाजसेवी सन्तोष गुरुङले बताए । कार्यक्रममा दोस्रो दिन वैशाख ११ गते प्रतिनिधि सभा सदस्य माननीय दामोदर बैरागीको प्रमुख आतिथ्यतामा विविध सम्मान सहित पुरस्कार वितरण समेत सम्पन्न गरिएको थियो ।

त्यसैगरी तेस्रो दिन समापन समारोहमा पुर्व मन्त्री प्रकाश वहादुर गुरुङको प्रमुख आतिथ्यतामा चन्दा दाता र सहयोगी महानुभावहरुलाई सम्मान गरि समापन गरिएको र आगामी २०८२ साल वैशाख १२ गते विद्यालयको वार्षिकोत्सब अवसरमा स्वर्ण जयन्ती स्मारिका समेत प्रकाशन गरिने कार्यक्रमका प्रचारप्रसार समिति संयोजक भगवान पौडेलले बताए । स्वर्ण जयन्ती समारोह अवसरमा विद्यालयको भौतिक र शैक्षिक सुधारका निम्ति आब्ह्वान गरिएको सहयोग संकलन अभियानमा विद्यालयको अक्षयकोषमा रु २६ लाख वरावरको चन्दा सहयोग रकम प्राप्त भएको र सहयोग क्रम अझै जारी रहेको आर्थिक संकलन समिति संयोजक तथा जनप्रतिनिधि गौप्रसाद गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...