सिधाने टोल विकासद्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

पोखरा । पोखरा–२३, उपल्लो सिधानेस्थित समाजघरमा सिधाने टोल विकास संस्थाको आयोजनामा तमु ल्होसार २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान, गाउँले भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

उपल्लो सिधाने टोलका टोल संयोजक ईश्वर घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चन्द्रप्रकाश गुरुङ र विशेष अतिथि उहाँकी धर्मपत्नी दशमी गुरुङ रहनुभएको थियो। कार्यक्रममा पन्चासे आदर्श क्लबका अध्यक्ष बेदप्रसाद गुरुङ, नीलगगन विकास समिति हर्पनका अध्यक्ष बैकुण्ठ पौडेल, लायन्स क्लब पोखरा सिटीका अध्यक्ष तथा पीएसीका निवर्तमान अध्यक्ष दिनेश गुरुङ, पीएसी सल्लाहकार खेमबहादुर गुरुङ, प्रगतिशील आमा समूहकी अध्यक्ष शिला उपाध्याय, रनबहादुर घले र शंकर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रमअन्तर्गत पन्चासे आदर्श क्लबले प्रमुख अतिथि चन्द्रप्रकाश गुरुङलाई भाङ्ग्रा तथा सम्मानपत्र प्रदान गरेको थियो भने विशेष अतिथि दशमी गुरुङलाई प्रगतिशील आमा समूहले पछ्यौरी ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रममा उपल्लो सिधानेका छोरी–ज्वाइँ लिलु गुरुङ र स्व. तेजबहादुर गुरुङद्वारा श्री सिधाने आधारभूत विद्यालयका लागि स्थापना गरिएको अक्षयकोषको ब्याज रकमबाट पाँच जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। साथै लायन्स क्लब पोखरा सिटीका अध्यक्ष दिनेश गुरुङले सोही विद्यालयका दुई जना विद्यार्थीलाई झोला, कापी र कलम प्रदान गर्नुभएको थियो ।

यसै वर्ष विवाह भएका चेलीहरू ईशा गुरुङ र निशा रायमाझीका जोडीलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा विशेष अतिथि दशमी गुरुङले प्रगतिशील आमा समूहलाई रु. २० हजार सहयोग प्रदान गर्नुभएको छ भने यसै वर्ष विवाह बन्धनमा बाँधिएका चेली ईशा गुरुङका ज्वाइँ चाइना गुरुङले रु. ५ हजार सहयोग प्रदान गर्नुभएको छ ।

कार्यक्रमले तमु समुदायको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै आपसी सद्भाव र सामाजिक एकतालाई थप सुदृढ बनाएको आयोजकले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...