जनसिद्ध आधारभूत विद्यालयको स्वर्ण जयन्ती सुरू

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पनमा अवस्थित जनसिद्ध आधारभूत विद्यालयको स्वर्ण जयन्ती बुधबारदेखि औपचारिक रूपमा सुरू भएको छ । विद्यालयको ५०औँ वार्षिक उत्सवको उद्घाटन पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको हो ।

 

स्वर्ण जयन्तीको उद्घाटन गर्दै नगर उपप्रमुख गुरुङले समुन्नत समाज निर्माणको पहिलो आधार शिक्षा भएको बताउनुभयो । विद्यालयलाई स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पोखरा महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“विद्यार्थी काँचो माटो जस्तै हुन् । भौतिक विकासभन्दा असल मानवीय विकास आजको आवश्यकता हो । व्यावहारिक शिक्षाले शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यार्थीलाई सही मार्गदर्शन दिन मद्दत गर्छ ।”

 

उद्घाटन समारोहका अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक स्व. चूडामणि पराजुली, टंकप्रसाद पराजुली र शिरपति अधिकारीलाई सम्मान गरिएको थियो । यस्तै स्वर्ण जयन्तीकै अवसरमा आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको छभने बिहीबार पनि सहयोग गर्ने दाताहरूलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक लेखबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 

कार्यक्रममा जीवन दाहाल, रामजी पौडेल, माया गुरुङ, मनोहरी दाहाललगायत कलाकारहरूको प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

 

सहसंयोजक लक्ष्मीप्रसाद पौडेलको स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लोककुमारी क्षेत्रीले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रष्ट पार्नुभएको थियो ।

 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङ, शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाट, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, अन्नपूर्ण गाउँपालिका वडा नं. २ का वडा सदस्य भानुभक्त दाहाल, पूर्व प्रधानाध्यापक टंकप्रसाद पराजुली तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाबुराम पौडेललगायत वक्ताहरूले विद्यालयको इतिहास, विकास र शिक्षाका आयामबारे धारणा राख्नुभएको थियो ।

 

कार्यक्रमको सञ्चालन स्वर्ण जयन्ती मूल समारोह समितिका सचिव भानु पराजुलीले गर्नुभएको थियो ।

 

विद्यालय स्थापनादेखि हालसम्म करिब १० हजार विद्यार्थी दीक्षित भइसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...