प्रदेश स्तरीय हक्की प्रतियोगिताको तयारी पुरा

पोखरा, ५ असार /प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ ।भारतीय पेन्सन  क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ ।प्रतियोगिताको विजेताले २० हजार, उप विजेताले १५ हजार र सह विजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रतियोगिताका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट टोली आउने क्रम जारी रहेको छ । प्रतियोगितामा मनाङ, मुस्ताङ र लमजुङबाट सहभागिता नरहेको थापाले जानकारी दिएका छन् ।आवश्यक न्युनतम भौतिक पुर्वाधार विना नै परिषदले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले भने, प्रदेशका विभिन्न जिल्लामा शाखा गठन गर्ने अभियान शुरु गरेको संघका सचिव अजय केसीले जानकारी दिए ।पहिलो सँस्करणको प्रतियोगितामा कास्की विजेता र तनहुँ उपविजेता बनेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...