पाेखरा, असाेज २४ गते ।पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक अव ब्रुमरले सफा गर्ने छ । सो का लागि महानगरपालिकामा सफा गर्ने स्वीपर मेसिन (ब्रुमर) ल्याएको छ । महानगरपालिकाले नयाँ स्वीपर मेसिन ल्याएको हो ।
मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गर्नुभयो । नगर प्रमुख आचार्यका अनुसार ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि सडकको सफाइका लागि मेसिन नै प्रयोग गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्नेछ ।
३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको उक्त मेसिन ४९ हर्ष पावर क्षमताको छ । २.९ मिटरको चौडाइ भएको यो मेसिन साना गल्लीहरूमा समेत प्रवेश गर्न सक्ने र सडक सफाइको काम गर्न सक्नेछ । यसले सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को भेइकलमा खन्याउनेछ । ब्रुमरले नगर क्षेत्रका मुख्य, सहायक र भित्री गल्लीहरू समेत सफा गर्नेछ ।
मेसिन केवल स्वीपरको रूपमा मात्र प्रयोग नभई लोडरको रूपमा समेत प्रयोग गर्न सकिने छ । यसले महानगरपालिकाको सफाइ अभियानलाई थप प्रभावकारी तथा दिगो बनाउन मद्दत गर्ने विश्वास गरिएको छ । हाल महानगरपालिकाले सडक सफाइका लागि ठुलो सङ्ख्यामा सफाइकर्मीहरू समेत परिचालन गरेको छ ।