पोखरा । युनाईटेड कम्युनिटी नेपाल (युनिकन)ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको “युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता २०२४” मा छात्रा तर्फ अमरसिंह मावि प्रथम भएको छ भने छात्र तर्फ बाराही मावि प्रथम भएको छ । पाँच विद्यालयबीच भएको उक्त प्रतिस्पर्धामा छात्रा तर्फ अमरसिंह माविले कन्या माविलाई १–० ले हराउँदै विजेता बनेको हो । छात्र तर्फ भने बाराही माविले शितला माविलाई ट्राई बे्रकरमा ३–२ ले हराउँदै विजेता बनेको हो ।
छात्रा तर्फ अमरसिंह मावि बाराही माविलाई हराउँदै फाइनलमा पुगेको थियो भने कन्या माविले शिवशक्ति माविलाई हराउँदै फाइनमा पुगेको थियो । छात्र तर्फ भने शितला माविले अमरसिंह माविलाई हराउँदै फाइनल पुगेको थियो भने बाराही माविले शिवशक्ति माविलाई हराउँदै फाइनल पुगेको थियो ।
युनिकनले विगत ६ महिनादेखि पाँच विद्यालयलाई निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराउँदै आइरहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फुटबल खेलमा अघि बढाउनको लागि फुटबल फोर फ्युचर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । विशेषगरी छात्राहरुलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा एक सय ४४ छात्राछात्रको सहभागिता रहेको छ भने ८५ जना छात्राहरुको सहभागिता रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा एन्फाबाट “सि” लाइसेन्स प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण गराउँदै आएका छन् ।
यस प्रतियोगितामा छात्रा तर्फ कन्या माविको केशु घर्तिमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यस्तै,उत्कृष्ट गोलकिपरको उपाधि अमरसिंह माविका छात्रा अनुजा तामाङ र धेरै गोलकर्ताको रुपमा सिम्रिका बस्ताकोटी घोषित भएका छन् । त्यस्तै छात्र तर्फ बाराही माविका समिर क्षेत्री उत्कृष्ट खेलाडी र शिव राउत उत्कृष्ट गोलकिपर घोषित भएभने उच्च गोलकर्ताको रुपमा शितला माविका सविन गुरुङले उपाधि जितेका थिए ।
सामुदायिक विद्यालयका छात्राछात्रहरुलाई अन्तर्राष्ट्रिय स्तरको फुटबल ग्राउण्डमा खेलको अनुभव प्रदान गराउने र फुटबल खेलप्रति थप हौसला बढाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने छात्राछात्रहरुले मेडल र ट्रफि प्राप्त गरेका थिए ।