पोखरा, १४ पुस । पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् ।
‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न लेकसाइडको बसुन्धरा पार्क/कोमागाने पार्कमा डिसेम्बर ३१ (पुस १६)मा कार्यक्रम हुन लागेको हो । प्रचार नेपाल र स्पेक्स–१४ को आयोजना र आर्बिटरी इभेन्टससँगको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
पुस १३ देखि १७ सम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान)पोखराले २६ औं संस्करणको पोखरा सडक महोत्सव गर्दैछ । नेपालको सबैभन्दा ठूलो स्ट्रीट फेस्टिभलमा देश÷विदेशबाट पर्यटकको ओइरो लाग्छ । सडक महोत्सवको सन्दर्भमा हुने ‘द इण्ड गेम’ वर्ष २०२४ को अन्त्यको उत्सवको मुख्य आकर्षण बन्ने आयोजकको विश्वास छ ।
‘द इण्ड गेम’ मा सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, ¥यापर डोङ, देवेन्द्र बब्लु एण्ड द फिरन्ती, द इन्फ्लेम ब्यान्डजस्ता चर्चित ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए । चर्चित पोडकास्ट सञ्चालक सञ्जय सिलवाल गुप्ताले यो कार्यक्रम सञ्चालन गर्ने छन् । डिसेम्बर ३१ मा हुने कार्यक्रम संगीत र मनोरन्जन प्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्ने स्पेक्स–१४ का सञ्चालक महेश्वरसिंह भण्डारीले बताए ।
उक्त दिनको कन्सर्टको टिकट डिजिटल वालेट खल्तीमार्फत खरिद गर्न सकिने उनले जानकारी दिए । खल्तीबाट अग्रिम टिकट लिँदा त्यसको मूल्य ७ सय ५० रुपैयाँ पर्नेछ । कार्यक्रम स्थलमा टिकटको मूल्य एक हजार रुपैयाँ पर्ने आयोजकले जनाएको छ । कन्सर्ट स्थलमा नयाँ वर्ष २०२५ को स्वागत स्वरुप हुने आतिसबाजीको अवलोकन, खानाका परिकारको स्वाद लिन र खेलकुद गतिविधिमा सहभागी हुन सकिने छ ।