पोखरा, पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले माछापुच्छ्रे गाउँपालिकामा भएका विभिन्न चासोका विषयहरूमा आज गाउँपालिकालाई ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ ।माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र सचिव रामचन्द्र पौडेल नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष मीनबहादुुर गुरुङलाई कार्यकक्षमा भेट गरी सो ज्ञापनपत्र बुझाएको हो । माओवादी केन्द्रले पालिकाको आधारभूत पूर्वाधारहरु सडक, पुल, विद्युत्, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधार गर्न माग गरेको छ ।
यसैगरी बाँदर नियन्त्रणको लागि विशेष कार्यक्रम ल्याउन माग गरिएको छ । साथै बन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति प्रदान गर्न माग गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।माओवादीले हेम्जा खानेपानी लुम्रे सैतिघट्ट सडक व्यवस्थित गरी सुरक्षित बनाउनुपर्ने, माछापुछ्रे गाउँपालिकाको गौरवको योजना भनिएको वडा नम्बर २ को कोल्चोकदेखि धम्पुस जाने रिङरोडको बाटोलाई पहिलो प्राथमिकतामा राखी अगाडि र दलित समुदायहरूबाट सञ्चालित किप्रिचे कृषक आमा समूह वडा नं ८ ल्वांगको सामुदायिक भवन निर्माणको लागि आर्थिक सहयोग गर्न माग गरेको छ ।
यसैगरी दुलेगौंडा मरेघाट सडकको स्तर उन्नति, लाहाचोक भेडाबारी पुल निर्माणलाई प्राथमिकता, वडा नम्बर ८ र ५ गण्डकी हाइड्रो जाने पुल निर्माण, वडा नम्बर ४ को जलकुण्डीबाट मर्दीखोला करिडोर निर्माण गरी वडा नम्बर ९ सम्म बनाउनुपर्ने, लाहाचोक पुरनचौर गण्डकी पुल निर्माण गर्नुपर्ने, बस्ती भित्रका सिणी तथा गोरेटो बाटोलाई संरक्षण एवं पुननिर्माण गर्नुपर्ने गर्न पालिकासँगमाग गरिएको छ ।
यसैगरी माओवादी केन्द्रले शिक्षातर्फ विद्यालयको संख्या घटाएर विषयगत दरबन्दी व्यवस्थापन गर्न, इसीडी शिक्षक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने, एक गाउँ एक प्राविधिक शिक्षालयको सही व्यवस्थापन गरी सञ्चालन, शिक्षकलाई कर्मचारी सरह व्यवस्थापन गरी मासिक तलबत्ताको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्रमा माछापुछ्रेमा पटकपटकमा चर्चामा आइरहने र सधैंभरि चुनावी नारा बनाइने गरिएको १५ शैयाको हस्पिटलको व्यवस्थापन गरी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था, प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीमा आवश्यकता अनुसार औषधि र दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको व्यवस्थापन , स्वास्थ्य बीमा कृषि बीमा र पशुबिमालाई व्यवस्थित गर्नुपर्ने माग गरिएको छ ।
भूमि बैंक निर्माण गरी बाँझो जमिनको सदुपयोग गर्ने नीति ल्याउन, एक गाउ एक उत्पादन पकेट ब्लकको व्यवस्थापन , पर्यटन व्यवसायीलाई वैधानिकता प्रदान गरी करको दायरामा ल्याउन, माछापुछ्रे गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र मर्दी हिमाल खुमैडाँडा जस्ता रमणीय क्षेत्रको उचित व्यवस्थापन गरी पदमार्गहरू निर्माण गर्नुपर्ने र पालिकाको स्वामित्वमा ल्याउन र मिर्सा रुम्जा खुमैडाँडा पदमार्गलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गर्न पालिकाको ध्यानाकर्षण गरिएको पालिका समितिका सचिव रामचन्द्र पौडेलले बताउनुभयो ।
यसैगरी एक वडा एक खेल मैदान निर्माण, एन्फा खेलमैदानको लागि आवश्यक पहल गर्न, घरेलु उधोगहरु स्थापना गरी बैदेशिक रोजगारी बाट फिर्ता आएकाहरुलाई रोजगारमूलक कार्यक्रममा सहभागी गराउन, सही गरिबको पहिचान गरी कार्ड वितरण, दलित समुदाय एवं अल्पसंख्यक समुदायलाई राजनीतिको मूलधारमा ल्याउने सशक्तिकरण कार्यक्रमको माग गरिएको छ ।
माओवादी केन्द्रले माछापुछ्रे गाउँपालिकामा रहेका जलविद्युत आयोजना, क्रसर खानी लगायतबाट राजस्व पालिकाको खातामा ल्याउन, सार्वजनिक जग्गाको पहिचान एवं संरक्षण,काष्ठफल परियोजनामा माछापुछ्रे गाउँपालिकालाई सहभागी गराउन, एक्यापको मूल समिति एवं गाउँ समितिहरूको पुनर्गठन गर्न पालिकासँग माग गरेको छ ।
यसैगरी गाउँपालिकामा दिगो प्रभाव रहने निर्णयहरू लिने क्रममा सर्वदलीय सहमति गर्न, अनुगमन लगायतका कार्यक्रममा प्रतिपक्ष दलको प्रतिनिधि अनिवार्य राख्नुपर्ने, जनयुद्ध तथा जनआन्दोलनका सहित तथा घाइतेहरू र वेपत्ताहरूलाई सम्बोधन गर्न विशेष कार्यक्रम निर्माण गर्नुपर्ने, स्मृति पार्क लगायतका पार्कहरू निर्माण गर्नुपर्ने र सहिद परिवार एवं बेपत्ता परिवारहरूको जीविकोपार्जनको लागि विशेष कार्यक्रम सिर्जना गर्न गाउँपालिकासँग माग गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।