कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु मुख्य दायित्व रहेको बताउनुभयो ।
‘रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्नका लागि सरकारको प्रतिबद्ध छ । अपाङ्गतामैत्री संरचना र सेवा जरूरी छ । सामाजिक सुरक्षाको प्रबन्ध गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो– ‘अपाङ्गता भएकाहरुको समानुपातिक समावेशी सहभागिता अपरिहार्य छ । उनीहरूको सहजताका लागि राज्यसहित सबै क्षेत्र जिम्मेवार तथा जबाफदेही बन्न आवश्यक ठानेको छु।’
दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्न आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
‘नेपालमा एकातिर विभिन्न स्वास्थ्यसम्बन्धी कारणबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या बढ्दै गइरहेको देखिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘अर्कोतर्फ समाजमा उनीहरूप्रति गरिने व्यवहार, मुलुकमा दशकौँदेखि व्याप्त रुढी, अन्धविश्वास र भेदभावलगायतका कारण दृष्टिविहीन अपाङ्गहरूले मानव भएर पनि न्यूनतम मानवअधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।’
प्रदेश प्रमुख भट्टले नेपाल नेत्रहीन संघमा निर्वाचित अध्यक्ष शिशिर खनालसहितका संघीय पदाधिकारीहहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालमा दृष्टिविहीनहरूको हक अधिकार स्थापित गर्न उल्लेखनीय कार्यसम्पादन हुने अपेक्षा पनि राख्नुभयो ।