पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ ले स्व. मनमोहन अधिकारीको १०५औं जन्मजयन्तीका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ। वडा कमिटी–५ का अध्यक्ष कमरेड लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्व. मनमोहन अधिकारीको जीवनी, योगदान तथा विचारधाराका विषयमा चर्चा, परिचर्चा गरिएको थियो । साथै, सरसफाइ अभियानसमेत सञ्चालन गरिएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा पोखरा महानगर कमिटीका इञ्चार्ज कमरेड दिलीपविक्रम शाहीले प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारीको योगदानलाई स्मरण गर्दै उहाँले सुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ अभियान, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यजस्ता पहलहरू नेपाली समाजका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।
त्यस्तै वडा कमिटी अध्यक्ष लक्ष्मण बरालले मनमोहन अधिकारीको नाम लिँदा आम मानिसको मनमा सरलता, इमान्दारिता र निष्ठाको छवि सजीव रूपमा आउँने बताए । साथै अधिकारीको जीवन र व्यवहार हाम्रा लागि प्रेरणाको स्रोत रहेको उनले बताए ।
कार्यक्रममा वडा कमिटी–५ का उपाध्यक्ष पानप्रसाद तिमिल्सिनाले उपस्थित सबैलाई स्वागत गर्दै लालकिल्लाको रूपमा रहेको वडामा निर्माणाधीन पार्टी सम्पर्क कार्यालयको प्रगति विवरण प्रस्तुत गरे । साथै, सदस्यता नविकरण सम्बन्धी जानकारीसमेत उनले दिए ।
कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव वसन्तराज गौतमले गरेका थिए । पहिलो चरणको औपचारिक कार्यक्रमपश्चात् रविन्द्र स्मृति वाटिकामा सरसफाइ अभियान सञ्चालन गरी कार्यक्रम सम्पन्न गरिएको वडा कमिटीले जनाएको छ ।