पोखरा, २९ भदौ । खस क्षत्रीहरुको साझा संस्था क्षत्री समाज नेपालले भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनको क्रममा संघीय राजधानी काठमाडौं तथा विभिन्न जिल्लाहरुमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका युवाहरुको चीर शान्तिको कामना गरेको छ ।
समाजले आज शोक बिज्ञप्ती प्रकाशति गरेर घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यक्ता” भन्ने मूलमन्त्रसहित २०५२ सालमा स्थापना भएको समाज जातिय सद्भाव, राष्ट्रिय अखण्डता, सिमा सुरक्षा कायम गराउने कार्यसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न सामाजिक रचनात्मक कार्यमा सक्रिय हुँदै आएको अध्यक्ष रिब बहादुर थापा र महासचिव कृष्ण बहादुर थापाद्वारा आज जारी शोक बिज्ञप्तीमा उल्लेख छ ।
आन्दोलनको क्रममा ठूलो मात्रामा राष्ट्रिय सम्पदा, कार्यालय, सम्पती र व्यावसायीक तथा व्यक्तिगत सम्पतीमा भएकाे आगजनीप्रति दुःख व्यक्त गर्दै सो कार्यमा संलग्न हुनेहरुलाई कडा कारबाहि गर्न माग गरिएको छ ।
समाजले नेपालको संविधान, अन्तराष्ट्रिय मानव अधिकार कानुन र नगारिकका उचित अवाजहरुलाई पहिचान गरी संवोधन गर्न र नागरिककाे जिउधनको सुरक्षाका लागि उच्च सुरक्षा व्यवस्था गरी क्षति हुन नदिन आग्रह गरेकाे छ । घटनाको निष्पक्ष, विश्वसनिय अनुसन्धान गरी जो कोहि दाेषि भएपनि कडा कारबाही गर्न माग गर्दछौं, समाजले लेखेकाे छ ।
नयाँ राजनीतिक परिस्थिति अनुसार गठन भएको सरकारले देश र जनताको दीर्घकालिन रुपमा शान्ति स्थायीत्व हुनेगरी विकास, पुनःनिर्माणसहित राष्ट्रिय हितका काम गर्न सक्षम रहोस् भन्दै शुभकामना पनि व्यक्त गरेको छ ।
यसैबीच, समाजले घटस्थापनाको दिनलाई क्षत्री राष्ट्रिय पर्व क्षत्री दिवसको रुपमा मनाउदै आएकोमा यसवर्ष राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै जिल्लागत रुपमा अनुकुलता हेरेर सो अनुसारको कार्य गर्न आग्रह गरेकाे छ ।