चौधौँ पोखरा महोत्सव पौष २९ देखि माघ ११ सम्म

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा चौधौँ संस्करणको पोखरा महोत्सव आगामी पौष २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह माध्यमिक विद्यालयको विशाल खेल मैदानमा सञ्चालन हुने भएको छ । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवबारे आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २५० वटा स्टल रहनेछन् भने सबै स्टल बुकिङ भइसकेका छन् । फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक (वृद्धभत्ता कार्डधारी), एकल महिला, विदेशी पर्यटक, पत्रकार, पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेश व्यवस्था गरिएको छ । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । आयोजकका अनुसार कुल आम्दानी करिब १ करोड ५१ लाख, खर्च १ करोड २३ लाख र बचत २८ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको युनाइटेड क्लब पाेखराका अध्यक्ष लाेकबहादुर थापाले जानकारी दिए ।

महोत्सवमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, उपभोग्य वस्तु, कृषि गतिविधि, पर्यटन प्रवर्द्धन सामग्रीको प्रदर्शनी तथा बिक्री हुनेछ । साथै विभिन्न जाति–जनजातिका कला–संस्कृति, विद्यालयस्तरीय लोकनृत्य प्रतियोग रहेकाे छ ।

वि.सं. २०६७ साल वैशाख ७ गते स्थापना भएको युनाइटेड क्लब पोखराले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै पोखरा महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवबाट संकलित आम्दानी क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ ।

क्लबले पोखरा र आसपासका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना, शैक्षिक सामग्री वितरण, ग्रामीण क्षेत्र लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, खेलकुद प्रतियोगिता आयोजना तथा प्रायोजन गर्दै आएको छ । त्यसैगरी पर्यटन प्रवर्द्धनतर्फ पोखरामा खुला चिडियाखाना निर्माण गर्ने अवधारणासहित पोखरा महानगरपालिकाको पचभैया क्षेत्रका सामुदायिक वन समेटेर पहल भइरहेको क्लबका महासचिव एंव प्रचार–प्रसार उपसमिति संयाेजक दिनेश सुनारले जानकारी दिए ।

युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना गर्ने देउसी–भैलो कार्यक्रमबाट बचत भएको रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरी विपद् प्रभावितलाई सहयोग गर्दै आएको छ ।

 सेती नदीका खोँचलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रयास र पोखरा–२७ अर्चलेमा गरिब तथा विपन्न बालबालिकाका लागि छात्रावास निर्माण कार्यसमेत अघि बढाइएको छ । यस वर्ष तीन कोठा निर्माण सम्पन्न भइसकेको र महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी रहेको क्लबले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...