निजी क्षेत्रमाथिको धरपकड स्वीकार्य छैन : नरेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा निर्यात समिति सभापति नरेशलाल श्रेष्ठले राज्य पक्षबाट निजी क्षेत्रमाथि भइरहेको धरपकडप्रति कडा आपत्ति जनाएका छन् । महासंघको आसन्न निर्वाचनका लागि वस्तुगत उपाध्यक्षका उम्मेदवार समेत रहेका श्रेष्ठले राज्यले विभिन्न बहानामा व्यवसायीहरूलाई त्रसित बनाउन नहुने बताएका हुन् ।

श्रेष्ठले राज्यले अनुसन्धानको नाममा निजी क्षेत्रका अगुवाहरूलाई नियन्त्रणमा लिने र दुःख दिने नियत राख्नु लोकतान्त्रिक र व्यावसायिक वातावरणका लागि घातक हुने टिप्पणी गरेका छन् ।

कुनैपनि विषयमा अनुसन्धान गर्नुपरेमा सुरुमा सम्बन्धित व्यवसायीको कुरा सुन्नुपर्ने र प्रमाणका आधारमा दोषी देखिएमा मात्र नियन्त्रणको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए । अनुसन्धानलाई हतियार बनाएर नियतवश व्यवसायीलाई सास्ती दिने कार्य तुरुन्त बन्द हुनुपर्ने उनको माग छ । ‘मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न राज्य गम्भीर हुनुपर्ने र उद्योगी व्यवसायीको सुरक्षा सुनिश्चित गरिनुपर्ने अवस्थामा निजी क्षेत्र माथि भइरहने घरपकड निन्दनीय छ,’ उनले भने ।

निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले उनीहरूमाथि गरिने व्यवहार मर्यादित र न्यायपूर्ण हुनुपर्ने उनको भनाइ छ । ‘राज्यले अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिनु हुँदैन । पहिले व्यवसायीको कुरा सुन्नुपर्छ, दोषी देखिए मात्र कारबाहीको प्रक्रिया थाल्नुपर्छ । यस्तो धरपकडले लगानीको वातावरण बिगार्छ,’ उनले भने ।

पछिल्लो समय व्यवसायीहरूमाथि बढ्दो प्रशासनिक हस्तक्षेप र धरपकडले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै श्रेष्ठले चुनावी एजेण्डामा पनि व्यवसायीको सुरक्षा र सम्मानलाई प्राथमिकता दिने संकेत गरेका छन् ।

 

टिप्पणिहरु
लोड हुदै...