एमालेको पराजय: पद्धतिगत सुधार कि व्यक्ति केन्द्रित आक्रोश ?- रामप्रसाद खनाल

रामप्रसाद खनाल ।निर्वाचनको परिणाम केवल प्राविधिक अङ्कहरूको जोड-घटाउ मात्र होइन, यो त समाजको भित्री तहमा पाकिरहेको वैचारिक चेतना, असन्तुष्टि र रूपान्तरणको चाहनाको राजनीतिक प्रकटीकरण पनि हो। २०८२ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको नतिजा नेकपा (एमाले) का लागि केवल एक पराजय मात्र होइन, यो त पार्टीको आन्तरिक जीवनमा लागेको घुन र सांगठनिक अराजकतालाई छर्लङ्ग पार्ने एउटा ऐना पनि हो। मार्क्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने पार्टीका लागि आज चौतर्फी बाह्य घेराबन्दी हुँदाहुँदै पनि त्यसैलाई मात्र दोष दिएर उम्कने ठाउँ छैन।

नीतिगत रूपमा वैचारिक स्पष्टता देखिए तापनि नेता तथा कार्यकर्तामा त्यसको बुझाइ र कार्यशैलीका कारण जनतासँगको सम्बन्ध टुट्दै जानु नै पराजयको मुख्य जड बनेको छ। यस्तो गम्भीर घडीमा आवेगमा आउने, भावनामा बहकिने, नकारात्मक टिप्पणीमा अल्झिने वा मुख्य कमजोरीको भारी एउटा व्यक्तिमा मात्र थोपरेर उम्कने समय होइन। बरु यो त संस्थागत ढंगले निर्मम समीक्षा गर्दै ऐतिहासिक निर्णय लिएर अगाडि बढ्ने उपयुक्त समय हो।

 

​कुनै पनि राजनीतिक दलका लागि निर्वाचन परिणाम एउटा ऐना हो, जसले दलको लोकप्रियता र आन्तरिक स्वास्थ्यको अवस्था देखाउँछ। तर यतिबेला पार्टीभित्र निर्वाचनको परिणामलाई लिएर जुन खालको बहस सुरु भएको छ, त्यो पार्टी कमिटीको बैठकको मर्यादित घेराभन्दा बाहिर सामाजिक सञ्जालको रोइलोमा परिणत भएको देखिन्छ। पार्टीका आधिकारिक संयन्त्रहरूमा छलफल गर्नुको साटो सार्वजनिक मञ्चहरूमा नेतृत्वको उछित्तो काढ्ने प्रवृत्तिले संगठनलाई सुधारभन्दा बढी क्षति पुर्‍याइरहेको छ।

 

द्वन्द्वात्मक भौतिकवादले सिकाउँछ कि कुनै पनि घटनाको मुख्य कारण आन्तरिक हुन्छ, बाह्य कारण त केवल संवाहक मात्र हो। एमालेको पराजयलाई देशीविदेशी शक्ति वा जनताको क्षणिक आक्रोश मात्र ठानेर वस्तुगत आत्मसमीक्षाबाट भाग्नु गैर-मार्क्सवादी दृष्टिकोण हुन्छ। नेपाली समाज सामन्तवादबाट पुँजीवादी उन्मुक्त चरणमा प्रवेश गरिरहेको छ। हिजो उत्पीडन र अभावको जगमा वर्ग-सङ्घर्षको रापबाट आएको एउटा ठुलो तप्का आज मध्यम वर्गमा रूपान्तरित भएको छ। यो वर्गको आवश्यकता, चेतना र आकाङ्क्षा हिजोको जस्तो परम्परागत छैन। पार्टीले समाजको यो बदलिँदो वर्ग-संरचना र नव-बुर्जुवा प्रवृत्तिको सही संश्लेषण गर्न सकेन। श्रमजीवी वर्गको वकालत गर्ने दलका नेता-कार्यकर्ताहरूको जीवनशैली, उठबस र आचरण जब पुँजीवादी वा उपभोक्तावादी संस्कृतिमा लिप्त हुन थाल्छ, तब सिद्धान्त र व्यवहारका बीचमा गहिरो खाडल निर्माण हुन्छ। जनतासंगको यो खाडललाई समयमै नबुझ्दाको परिणाम – पार्टीमा आधारभूत वर्ग नै विमुख हुन पुग्यो।

 

​वर्तमानमा एमालेको सबैभन्दा डरलाग्दो समस्या भनेको कागजी संगठन र भुइँतहको यथार्थबीचको दूरी बन्न पुग्नु हो। तल्ला कमिटीहरूले धरातलीय यथार्थ र जनताको मनोविज्ञान बुझ्नुभन्दा पनि नेतृत्वलाई खुसी पार्न सबै ठिक छ भन्ने झुटो विवरण पेस गर्ने परिपाटी हाबी भएको छ। कमिटीहरू यति भद्दा र संख्यात्मक रूपमा ठुला बनाइएका छन् कि ती केवल पद बाँड्ने थलोमा सीमित भएका छन्, जहाँ न त उत्तरदायित्व छ, न त प्रभावकारी छलफल नै हुन्छ। हिजोका कार्यकर्ताहरू जनजीविकाका मुद्दामा भिड्थे, तर आजका कार्यकर्ताहरू नेताको अघिपछि कुद्ने, स्वागत गर्ने र सामाजिक सञ्जालमा फोटो हाल्ने सेल्फी संस्कृतिमा व्यस्त छन्। नेतृत्वले पनि स्वागत र फोटोकै भरमा कामको मूल्याङ्कन गर्ने भ्रम पाल्दा इमानदार कार्यकर्ताहरू विस्तारै पाखा लाग्दै गएका छन्।

 

विचार, सिद्धान्त र पार्टी अनुशासनको कुनै प्रशिक्षण नदिई केवल संख्या बढाउन, कमिटीको नेतृत्व कब्जा गर्न र संसदीय पद लिने उद्देश्यले पार्टी सदस्यता वितरण गर्दा कार्यकर्तामा वैचारिक स्खलन आएको छ। पार्टीको विचार, सिद्धान्त र उद्देश्य त परै जाओस्, पार्टीको पूरा नाम समेत भन्न नजान्ने सदस्यहरू पार्टीमा थुप्रिएका छन्। जननेता मदन भण्डारीले अघि सारेको जबजको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरासँग जोडिएको थियो, जुन विचार, नीति, आचरण र जनसेवामा आधारित हुनुपर्थ्यो। तर पछिल्ला वर्षहरूमा विचारको बहस सुकेको छ र संकीर्ण गुटबन्दी, शक्ति-केन्द्रहरूको चाकडी र अवसरवाद हाबी हुँदा जबजलाई केवल निर्वाचन जित्ने र सत्तामा पुग्ने भोट बैंक रणनीतिमा मात्र सीमित गरियो कि भन्ने प्रश्न उठेको छ।

 

​पार्टीको चुनावी रणनीति र आकलनमा देखिएको सबभन्दा ठुलो कमजोरी र आत्मघाती पक्ष भनेको समयमै प्रतिस्पर्धी शक्तिको पहिचान गर्न नसक्नु पनि हो । निर्वाचनको दिनसम्म पनि देशका अधिकांश निर्वाचन क्षेत्रमा हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्र हुन्छ भन्ने मनोवैज्ञानिक भ्रममा सिङ्गो पार्टी पंक्ति रुमल्लिरह्यो। बदलिँदो सामाजिक परिवेश, नयाँ राजनीतिक शक्तिहरूको उदय, र भूइँतहमा पुराना दलहरू प्रति पैदा भएको तीव्र आक्रोशका कारण भित्री रूपमा भइरहेको जनमतको ध्रुवीकरण र उभारलाई बुझ्न पार्टी पूर्णतः असफल भयो। निर्वाचनमा प्रतिस्पर्धी शक्तिको पहिचान तथा चुनावी प्रतिस्पर्धाको वस्तुगत विश्लेषणमा देखिएको यो गम्भीर कमजोरीले गर्दा अन्तिम समयसम्म पनि तल्ला कमिटीहरूले ठिक ढंगले योजना बनाउन सकेनन् र पुराना गढहरू समेत तासको पत्ताझैँ ढल्न पुगे।

 

​यस चुनावी परिणामको सबैभन्दा गम्भीर र ऐना जस्तै छताछुल्ल भएको पक्ष भनेको पार्टीको परम्परागत सामाजिक र वर्गीय धरातल नै खस्कनु हो। हिजो जुनसुकै परिस्थितिमा पनि कम्युनिष्ट आन्दोलन र एमालेको बलियो खम्बाका रूपमा खडा हुने सहरीया मध्यम वर्गको एउटा ठुलो हिस्सा यस पटक पार्टीबाट निकै टाढा हुत्तियो। डुलमुले चरित्र बोकेको , प्रविधि र आधुनिक चेतनाले सुसज्जित, सुशासन र छिटो परिवर्तन तथा द्रुत सेवा प्रवाहको आकाङ्क्षी यो वर्गले अल्गोदिरमले पारेको प्रभावका कारण एमालेको परम्परागत शैली र आश्वासनलाई विश्वास गर्न सकेन।

 

अझ त्योभन्दा पनि विडम्बना र आत्मसमीक्षाको मुख्य कडी त के छ भने, पार्टीको वास्तविक प्राण मानिने आधारभूत वर्ग अर्थात् गरिब, सुकुम्बासी, मजदुर र निम्न-वर्गीय जनसमुदायले समेत यस पटक एमालेलाई मतदान गरेनन्। जुन वर्गका मुद्दा र अधिकारका लागि पार्टी स्थापना भयो, जुन वर्गको नेतृत्व गर्दैन पार्टी आजको उचाइसम्म आइपुग्यो, त्यही भुइँमान्छेहरूको वर्ग नै पार्टीको डेलिभरी र कार्यशैलीबाट निराश भई कि त मौन बस्यो कि त अन्य विकल्पतिर लाग्यो। सहरीया मध्यम वर्गको बौद्धिक असन्तुष्टि र आधारभूत वर्गको जीविकोपार्जनको आक्रोश एकै ठाउँमा मिसिँदा पार्टीले यो ठुलो धक्का बेहोर्नुपरेको हो।

 

​यस सङ्कटको अर्को एउटा तितो पाटो जनप्रतिनिधिहरूको भूमिका र व्यवहारसँग जोडिएको छ। विगतका निर्वाचनहरूमा पार्टी र इमानदार कार्यकर्ताहरूको रगत-पसिना र रातदिनको कडा मिहिनेतबाट विजयी भएका जनप्रतिनिधि र आम जनता तथा संगठनका कार्यकर्ताहरूबीचको सम्बन्ध सुमधुर हुन सकेन। जनप्रतिनिधिहरु जनताका गुनासा धैर्यताका साथ सुनेर विषय बस्तुको बारेमा जानकारी गराउनु भन्दा बजेटरी समस्या देखाई शासकियशैलीमा प्रस्तुत हुदा जनतासँगको सम्बन्ध टाडिदै गयो ।निर्वाचन जितेर कुर्सीमा पुगेपछि कतिपय जनप्रतिनिधिहरूले त्यो जित पार्टी, संगठन र सामूहिक परिचालनको जगमा भएको हो भन्ने यथार्थलाई चटक्कै बिर्सिए र सिंगो निर्वाचन आफैँले मात्र जिते जस्तो अहङ्कारपूर्ण व्यवहार प्रदर्शन गरे। उनीहरूले आफूलाई जिताउने कार्यकर्ता र आफ्ना मतदाताका गुनासा, समस्या र रचनात्मक सुझावहरूको सम्बोधन गर्न आवश्यक ठानेनन्, जसले गर्दा भुइँतहमा पार्टीप्रति तीव्र असन्तोष पैदा भयो । जनप्रतिनिधिहरूको यो कार्यशैलीले अन्ततः पार्टी र जनताबीचको विशाल खाडल झन् बढाउने काम गर्‍यो।

 

एउटै व्यक्ति बारम्बार उम्मेदवार बन्ने मोहले नयाँ कार्यकर्तालाई ओझेलमा पारेको छ, जसले संगठनमा निराशा र मतदातामा पार्टीप्रति वितृष्णा पैदा गरेको छ। निर्वाचनमा पार्टीको समग्र पंक्ति परिचालित हुनुको सट्टा उम्मेदवार एक्लैले लडेको जस्तो देखिनुले तल्ला कमिटीहरूको निकम्मापनलाई उदाङ्गो पारेको छ भने निर्वाचन परिचालन कमिटीहरू कागजमा मात्र सीमित रहे।

 

​विशेषगरी अधिवेशनहरूमा उपविजेता बनेका वा प्राविधिक कारणले पद प्राप्त गर्न नसकेका आकांक्षीहरूको कमिटीहरूलाई असहयोग तथा समानान्तर गतिविधि समेत संगठन कमजोर हुनुको कारण रहेको छ। एउटा समूह पार्टी निर्णय र नेतृत्वको पक्षमा कहिल्यै सकारात्मक देखिएन। आज त्यस्तैखाले नेताकार्यकर्ताहरूले एक कदम अगाडि सरेर चर्को स्वरमा नेतृत्व परिवर्तनको माग उठाइरहेका छन्। फलानाले छोड्नुपर्छ र फलानालाई बनाउनुपर्छ भन्दै गर्दा उनीहरूले बिर्सिएको मुख्य कुरा विधि र पद्धति हो। लोकतान्त्रिक अभ्यासबाट चुनिएको नेतृत्वलाई सडक वा फेसबुकको दबाबबाट हटाउन खोज्नु आफैँमा अलोकतान्त्रिक चरित्र हो। एमालेको सांगठनिक प्रणाली सुन्दर देखिए तापनि व्यवहारमा कमिटीहरू माथिको आदेश मात्र पर्खने निर्जीव र कर्मचारीतन्त्रशैलीका संरचनामा परिणत भएका छन्। लेनिनवादी संगठनात्मक पद्धति केवल नाममा सीमित छ भने व्यवहारमा गुटको कमाण्ड सक्रिय भएको देखिन्छ।

 

अझ विडम्बना त के छ भने, निर्वाचनमा आफ्नै पार्टीको आधिकारिक उम्मेदवार हराउन सक्रिय हुने अन्तर्घातीहरूले कारबाही भोग्नुको सट्टा गुटका कारण राजनीतिक संरक्षण र पद पाउने संस्कृतिले अन्तर्घातलाई नै संस्थागत गरिदिएको छ। वडाहरूमा पार्टी सदस्य भन्दा पनि कम मत प्राप्त हुँदा सबै नेता-कार्यकर्ताहरूले निर्वाचनको समयमा पार्टीको आधिकारिक उम्मेदवारलाई इमानदारीपूर्वक मत दिए वा दिएनन् भन्ने विषयमा शंका गर्ने पर्याप्त ठाउँ छ। व्यक्तिगत ईर्ष्या र कुण्ठालाई सुधारको खोल ओढाएर प्रस्तुत गरिनु राजनीतिक इमानदारी होइन।

 

​नेपाली राजनीतिमा पछिल्लो समय पपुलिजम वा प्रियतावादको लहर चलेको छ। सामाजिक सञ्जालको बढ्दो प्रभाव र डिजिटल साक्षरताका कारण नयाँ पुस्ता नीति र सिद्धान्तभन्दा बढी नेता कार्यकर्ताहरूको भाषाशैली र व्यवहारलाई हेरेर धारणा बनाउँछ। नेता कार्यकर्तामा देखिएको कार्यशैलीगत कमजोरीले आम जनता र विशेष गरी युवा पुस्तामा असन्तुष्टि पैदा गर्‍यो। तर, पार्टीको वर्तमान परिस्थितिका लागि केवल शीर्ष नेतृत्व मात्र जिम्मेवार छैन। जिल्लादेखि केन्द्रसम्म विभिन्न पद र अवसरहरू प्राप्त गरेका र गलत रिपोर्टिङ गरेर आफ्नो दुनो सोझ्याउने खेलाडीहरू यसका मुख्य दोषी हुन्। आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न नेतृत्वलाई अनावश्यक सल्लाह दिने र भुइँतहको यथार्थ लुकाउने पात्रहरूले गर्दा नै आज यो स्थिति सिर्जना भएको हो।

 

स्वभावजन्य वा कार्यशैलीजन्य कमजोरीहरू जो कसैका पनि हुन सक्छन् र ती सच्चिनै पर्छ, तर २०८२ भदौ २३ र २४ का षड्यन्त्र र नियोजित घटनाक्रमसहित सम्पूर्ण निर्वाचनको पराजयको दोष केपी ओली एक्लैको टाउकोमा थोपर्नु कुतर्क र पूर्वाग्रह सिवाय केही हुन सक्दैन। प्रजातन्त्र पुनस्थापन पछिका अन्य दलहरूले देखाएको अदूरदर्शिता, अपारदर्शिता, अकर्मण्यता र भ्रष्टाचारको जगमा आज जनमतको ठूलो हिस्सा आक्रोशित छ। यो दशकौँदेखिको बेथितिको शिकार केवल ओली मात्र हुनुपर्ने र बाँकी सबै नेतृत्व चोखिनुपर्ने कुनै बलियो आधार छैन।

 

​आज राजीनामाको कोलाहल मच्चाउनेहरूले हिजो जेन्जी आन्दोलनपछि पार्टी र नेतृत्वका विरुद्ध भएका भ्रम चिर्न कति जुध्यौँ भनेर आत्मसमीक्षा गर्नु आवश्यक छ। नेतृत्वलाई गाली गर्नुभन्दा अगाडि संगठनको प्रतिरक्षामा आफ्नो भूमिका कस्तो रह्यो भन्ने कुराले धैरै अर्थ राख्छ। पार्टीको भित्र अर्को ठुलो रोग भनेको सधै एउटा पक्ष नीति र नेतृत्वप्रतिको विद्रोही मनोविज्ञान पनि हो। विधिबाट चयन भएको नेतृत्वमाथि बाहिरबाट प्रहार हुँदा रमिते बन्ने र प्रतिरोध नगर्ने कायरतापूर्ण मौनता साँचिनु पार्टीको लागि दुर्भाग्यपूर्ण छ। आफ्ना कुरा कमिटीमा राख्नुभन्दा सञ्चार माध्यम र सामाजिक सञ्जालमा छताछुल्ल पारेर सेलिब्रिटी बन्न खोज्ने प्रवृत्तिले अनुशासनको धज्जी उडाएको छ।

 

विद्यार्थी, युवा, महिला र किसान लगायतका जनवर्गीय संगठनहरूले आ-आफ्नो समुदायको हक-हितका मुद्दा उठाउनुको सट्टा नेतृत्व हत्याउन हानथाप गर्ने र शक्ति प्रदर्शन गर्ने अखडा बनेका छन्। जनसंगठनहरू सम्बन्धित समुदायबाट अलगथलग भई केवल गुटबन्दीमा सक्रिय रहे। भ्रष्टाचार, महँगी, बेरोजगारी, सेवा प्रबाहमा ढिलासुस्ती र सुकुम्बासी समस्यामा जनताका मागहरू बुलन्द गर्नुको सट्टा आन्तरिक शक्ति संघर्षमा अल्झिँदा पार्टीको परम्परागत जनधार खस्किएको छ भने नयाँ पुस्तासँगको सम्बन्ध निकै कमजोर भयो । सरकारको नेतृत्वमा रहदा शिक्षक , कर्मचारी तथा विभिन्न पेशागत समुदायका मागहरुलाई सम्बोधन गर्न नसक्दा त्यो समुदायको ठूलो हिस्साले पनि एमालेलाई निसाना बनायो ।

 

​आजको नयाँ पुस्ता, जसले जन्मँदै आधुनिकता र प्रविधिको संसार देख्यो, उसलाई हाम्रा अग्रजहरूको बलिदान र व्यवस्था परिवर्तनको गौरवशाली इतिहास बुझाउन र उनीहरूलाई जिम्मेवारी सुम्पिन पार्टी चुकेको छ। सञ्चार र प्रविधिको प्रयोगमा पनि पार्टीभित्र ठुलो विचलन देखिन्छ। पार्टी र सरकारमा रहँदा गरिएका ऐतिहासिक उपलब्धिहरूको संस्थागत प्रचार हुनै सकेन ।

 

राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताका लागि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा जारी गर्ने, भारतीय नाकाबन्दी विरुद्ध चट्टानी अडान लिने र अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको शिर उँचो बनाउने ,जनताको सामाजिक सुरक्षामा नयाँ अभियान तथा भौतिक पुर्वाधार विकासमा नेपालीलाई नयाँ गति दिएको एक योद्धालाई आज ‘अपराधी’ जस्तो व्यवहार गरिनु विडम्बनापूर्ण छ। इतिहासका ती गर्विला गौरवगाथाहरूलाई छायामा पारेर उनलाई पदबाट हटाउँदैमा भोलिका दिन स्वर्णिम हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन। यद्यपि सबै तहको नेतृत्वले सकारात्मक आलोचनालाई समेत अस्वीकार गर्ने र सरकारमा रहँदा सेवाप्रवाहमा भएका कमीकमजोरीप्रति जनतासँग आत्मआलोचित नहुने कार्यशैलीले पार्टीलाई जनस्तरबाट टाढा धकेल्दै लगेको छ। आफ्नै परिवारका सदस्य अर्को पार्टीमा लाग्दा समेत मुकदर्शक बन्ने नेता कार्यकर्ताको प्रवृत्तिले पार्टीको साख नराम्ररी गिराएको छ। खासगरी सामाजिक सञ्जालको नियमन र २०८२ भदौ २३ र २४ को घटना तथा विद्यार्थीको मृत्युका बारेमा विपक्षीले फैलाएका विभिन्न भ्रम र आरोपका फेक काण्डहरूको भ्रम चिर्न नसक्नु ठूलो असफलता हो।

 

अन्त्यमा ,
​एमालेको यो वर्तमान सङ्कट “कार्यकर्ता धेरै तर काम कम” र “नेता धेरै तर नीतिगत काम कम” हुनुको परिणाम हो। “यदि मबाट गल्ती भएको छ भने सच्याउन तयार छु” भन्ने साहसका देखाउन जरुरी छ । जबसम्म स्वागत र फोटो खिचाउने काममा मात्र जोड दिने कार्यकर्ता र कागजी कमिटीलाई पुनर्गठन गरिँदैन, तबसम्म अपेक्षित परिणाम सम्भव छैन। अहिलेको घडी पार्टी छोड्ने, घुरक्याउने वा थर्काउने बेला होइन, यो त धैर्य र शान्त भएर इतिहासको गौरव र भविष्यको स्पष्ट मार्गचित्रसहित जनताको चुल्हो-चौकोसम्म जाने संकल्प गर्ने बेला हो। अब पार्टी नयाँ ढंगले चल्ने बाटो चयन गर्न आवश्यक छ। मात्र व्यक्ति परिवर्तन समस्याको समाधान होइन, पार्टीभित्र नीति, कार्यशैली र सांगठनिक संरचनाको सम्पूर्ण शल्यक्रिया नै आवश्यक छ।

 

समयको माग र युवा मनोविज्ञानलाई बुझेर आफ्ना कमजोरीहरू सुधार्दै नेतृत्व युवाहरूको सहभागीतालाई बढाउदै नेतृत्व निर्माणमा सहज बनाउनु आजको आवश्यकता हो। तर, एकपक्षीय रूपमा केपी ओली मात्र दोषी छन् भन्नु “आफू बाहेक अरू सबै गलत छन्” भन्ने संकुचित मानसिकताको उपज मात्र हो। हरेक असफलताले चुनौती मात्र होइन, अवसर पनि लिएर आउँछ। संघर्षको यो मोडमा सम्हालिँदै र रूपान्तरित हुँदै अगाडि बढ्नु नै आजको ऐतिहासिक आवश्यकता हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...