पोखरा । भोटेकोसी बाढी प्रभावितको राहत तथा सहयोगका लागि तमु धिं नेपालको समन्वयमा सञ्चालित राहत कोष संकलन अभियानबाट ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा संकलन भएको छ।

तमु धिं नेपालले असाेज ५ गतेसम्म विभिन्न ७९ वटा समाज, संस्था, समूह तथा परिवारबाट उक्त रकम संकलन भएको आज तमुधिंकाे कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । सार्वजनिक गरिएको विवरणमा विभिन्न तमु समाज, आमा समूह, चेेलीबेटी समूह, विद्यार्थी समिति तथा सामाजिक संघसंस्थासहित परिवार र व्यक्तिगत सहयोगदाताले आर्थिक सहयोग गरेकाे महासचिव जुना गुरुङले बताइन ।
संकलित रकममध्ये विभिन्न संस्थाले फरक–फरक परिमाणमा सहयोग गरेका छन्। अभियानमा सबैभन्दा ठूलो रकम रिमान चौर नाथ प्रल्हाद पैगिलामा परिवार समितिबाट ५ लाख ७२ रुपैयाँ ७५ पैसा सहयोग भएको विवरणमा उल्लेख छ।


त्यस्तै चारभञ्ज्याङ तमु समाज पोखराबाट ४ लाख १५ हजार ७५२ रुपैयाँ र दीप हाउजिङ समाज तमु परिवारबाट ३ लाख ४८ हजार ५५५ रुपैयाँ सहयोग प्राप्त भएको छ।
यसैगरी श्री तनहुँ तमु समाज पोखराबाट २ लाख ६७ हजार ३४४ रुपैयाँ, तमु धिं नेपाल केन्द्रीय कार्यसमितिबाट २ लाख १७ हजार ५६१ रुपैयाँ, घाचोक लाहाचो तमु समाज र चेेलीबेटीबाट २ लाख १७ हजार ३२५ रुपैयाँ तथा मादा तमु समाज पोखराबाट २ लाख १७ हजार ३२५ रुपैयाँ सहयोग प्राप्त भएको विवरणमा उल्लेख छ।
तमु धिं नेपालका अनुसार संकलित रकम असाेज ५ गते काठमाडौं लगेर प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा आठ सदस्यीय टोली काठमाडौं जाने र नेपाल सरकारका गृहमन्त्री तथा अर्थमन्त्रीको रोहवरमा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी राहत रकम संकलनको विस्तृत प्रतिवेदन भदौ ५ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रमुख जिल्ला अधिकारीलाई समेत बुझाइने तमु धिं नेपालले जनाएको छ।
भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशमा रहेका विभिन्न तमु समाज, संस्था, समूह, परिवार तथा व्यक्तिहरू सहभागी भएका छन्। तमु धिं नेपालले विपद्का बेला राहत अभियानमा सहभागी भई सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेको छ।