इन्टरनेट सेवा प्रदायकले सस्तो प्याकेज हटाउने, सेवा शुल्क बढाउने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवाका केही सस्ता प्याकेज हटाउने तथा सेवा शुल्क समायोजन गर्ने जनाएको छ।


आइस्पानले आइतबार जारी गरेको विज्ञप्तिमा पछिल्ला वर्षहरूमा मूल्यवृद्धि, अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन, इन्धनको मूल्यवृद्धि, फाइबरको मूल्य, मुद्रास्फीति तथा कृत्रिम बुद्धिमत्ताका कारण इलेक्ट्रोनिक सामग्री र चिपसेटको मूल्य बढेको जनाएको छ।

 

यी विभिन्न कारणले इन्टरनेट सेवा प्रदायकको सञ्चालन खर्च बढेको भन्दै यसअघि उपलब्ध गराउँदै आएका सस्तो मूल्यका र कम गतिको प्याकेज आगामी कात्तिक १९ गते सोमबारदेखि उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ। यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति आइस्पानले क्षमायाचना गरेको छ।

 

आइस्पानले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरअनुसार आफ्ना वेबसाइटमा स्पष्ट रूपमा मूल्यसूची राख्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। साथै ग्राहकलाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करको बिल लिनसमेत अनुरोध गरेको छ।

 

विज्ञप्तिमा पछिल्लो समय इन्टरनेटको पहुँच र प्रभावमा नेपालले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै कोभिड–१९ महामारीदेखि बाढीपहिरोसम्मका विपद्का समयमा समेत सेवा प्रदायकहरूले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको दाबी गरिएको छ।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीद्वारा जारी विज्ञप्तिमा ग्राहक तथा सम्बन्धित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...