सरकारले उपनिर्वाचनको कार्यतालिका बनाउने

काठमाडौं, वैशाख ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ । बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्ने सहमति दलका नेताहरुले दिनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको परामर्शअनुसार उपनिर्वाचनको कार्यतालिका बनाउने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले आगामी मङ्सिरसम्म उपनिर्वाचन गर्ने तयारी थालेको बुझिएको छ । एमसीसी प्रस्ताव संसद बैठमा प्रस्तुत गर्नुपर्ने, सरकारले ल्याउने विजनेस रोक्न नमिल्ने भनाई दलका नेताहरुको रहेको उहाँले जानकारी दिनुभयो । दलहरुबीचमा विभिन्न समयमा मुलुकको साझा समस्याबारे परामर्श गरी अघि बढ्ने कुरा पनि भएको परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले बताउनुभयो । मुलुकको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रबृत्ति देखिएकाले त्यसप्रति सजग हुँदै निरुत्साहित गर्नुपर्छ भन्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको जानकारी नेता ज्ञवालीले बताउनुभयो ।

 

पत्रकारको अर्को जिज्ञासामा प्रवक्ता ज्ञवालीले संसदीय प्रणालीमा सांसदले दलीय फ्लोर क्रस गर्नु अक्षम्य विषय भएको बताउनुभयो । संसदभित्रको एजेण्डामाथि सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुहुँदै प्रवक्ता ज्ञवालीले संसदमा प्रस्तुत प्रस्तावमा कसैले खेलवाड गर्न नहुने बताउनुभयो । लामो समयसम्म संसद बैठकमा प्रस्ताव रोकेर राख्न उचित नरहेको उहाँले बताउनुभयो । सरकारले दिएको विजनेस संसद बैठकमा नियमले राक्न नमिल्ने तर पास गर्ने कि नगर्ने बारे संसद सार्वभौम रहेको उहाँले बताउनुभयो । जसपाले नागरिकताको विषय बैठकमा उठाएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...