पोखरा, बैशाख २९ गते । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाको संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाएको छ । जनमोर्चाका सांसद थापाले नेपाली काँग्रेस नेतृत्वमा सरकार गठन गर्नका लागि हस्ताक्षर गर्न अस्वीकार गरेपछि दलको नेताबाट हटाएको हो ।
बैशाख १० गते थापा समेतको उपस्थितिमा बसेको दलको केन्द्रको एवं बैशाख १२ गते स्वंयम थापाको अध्यक्षतामा बसेको जनमोर्चाको संसदिय दलको बैठकले काँग्रेस, माओबादी केन्द्र र जसपा सहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने निर्णय विरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको महासचिव मनोज भटटले संसद सचिवालयलाई लेखेको पत्रमा जनाएको छ ।

पार्टीको निर्देशन विपरित कार्य गरेकाले तपाईलाई संसदीय दलको नेताबाट हटाई अन्य आवश्यक कारबाही किन नगर्ने ? सम्वन्धमा स्पष्टिकरण माग गरिएको र उहाँले अटेर गरी स्पष्टिकरण नबुझाउनु नभएकाले आजै बसेको जनमोर्चा केन्द्रीय सचिवालयको जुम बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतक मार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको ब्यहोरा जानकारी गराइन्छ संसद सचिवालयमा पठाइएको पत्रमा भनिएको छ ।