रुपन्देही । राष्ट्रियसभाको लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि आज मतदान हुँदैछ । दाङको घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा विहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
निर्वाचनमा लुम्बिनी प्रदेशसभाका ८३ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् ।कर्मचारी मिलन केन्द्रको मतदान केन्द्रमा तीनवटा मतदान स्थल रहनेछन् । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको १८ मतभार गणना हुन्छ ।