पोखरा, जेठ ३१ गते ।कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका खेलाडीलाई राहत वितरण गरिएको छ । कास्की जिल्ला खेलकुद विकास समितिले सोमबार विभिन्न खेलसंग आवद्ध ४० जना खेलाडीलाई राहत प्रदान गरेको हो ।
तस्विर: सञ्जय शाक्य

कोरोना भाइरस संक्रमणको दोश्रो लहर तीव्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले गत बैशाख १५ गतेबाट कास्की जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गण्डकी प्रदेश सरकारका विनाविभागीय मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङ, जिल्ला खेकलुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, उपाध्यक्ष महेन्द्र गुरुङ, सचिव भीम पराजुली, कोषाध्यक्ष कञ्चन थापा कोइराला लगायतले खेलाडीहरुलाई राहत वितरण गर्नुभयो ।

निषेधाज्ञाका कारण खेलाडीहरु समस्यामा परेको भन्दै खेलकुद विकास समितिले राहत प्रदान गरेको हो । समितिले प्रति खेलाडी २५ किलो चामल, दुई किलो दाल, चना दुई किलो, तेल डेढ लिटर तथा मास्क र सावुन प्रदान गरेको समितिका अध्यक्ष तोरण बानियाँले जानकारी दिनुभयो । निषेधाज्ञाले खेलाडीहरुको चुल्हो बाल्न समस्या भएको महसुुस गरेर हामीले राहत वितरण गरेका हौ अध्यक्ष बानियाँले भन्नुभयो ।
खेलाडीलाई राष्ट्रका गहना भन्ने तर अप्ठ्यारो अवस्थामा केही नगर्दा उनीहरुको आत्मबल खस्किन सक्छ उहाँले भन्नुभयो, ‘खेलकुद विकास समिति खेलकुद र खेलाडीको लागि गठन भएकाले केही गर्नुपर्छ भन्ने भावनाले राहत वितरण गरेका हौ ।’