पोखरा, असार ८ गते ।कास्कीमा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । आठौँ पटक थपिएको निषेधाज्ञालाई विगतको भन्दा खुकुलो बनाउदै असार १५ गतेसम्म थप गरिएको छ । आजदेखि कास्की जिल्लामा खाद्यान्न, तरकारी फुलफल, फेन्सी, विद्युत, हार्डवयर लगायतका पसलहरु विहान ५ देखि १२ बजेसम्म खोल्न पाइने छ भने निजी सवारी साधन जोरविजोरका आधारमा सञ्चालनमा आउने छन् ।

कास्की जिल्लामा यात्रुबाहक साना तथा ठूला सार्वजनीक भाडाका सवारी साधनहरु सञ्चालन गर्न भने पाइने छैन् । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको पछिल्लो आदेश अनुसार निजी सवारी साधन(साना सवारी चार पांग्रे र दुई पांग्रे) को हकमा जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरका सवारी साधन सञ्चालन गर्न पाइने छ । सवारी साधनले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई अनावश्यक ब्यक्ति नचढाई बढिमा चार पांग्रे सवारीको हकमा चालक सहित ४ जना यात्रु राख्न पाइने छ ।
त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क, रंगशाला फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिंग पुल, ब्युटी पार्लर, शैलुन, फुथपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु खोल्न तथा सञ्चालन गर्न नपाइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
माथि उल्लेखित बाहेक खाद्यान्न, फेन्सी, हार्डवयर, तरकारी, फलफुल, दुधका पसलहरु विहान ५ देखि मध्यन्न १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।सञ्चालनमा आउने ब्यवसायले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । झण्डै दुई महिनापछि पोखराका पसलहरु खुलेका छन् । विहानैदेखि मुख्यबजार क्षेत्रका पसलहरु पनि खुलेपछि केही चहपहल बढेको छ ।