गुरुङ (तमू) समाज मकाउद्धारा मादीको सोंधाका बाढी प्रभावितहरुलाई राहत वितरण

पोखरा, साउन १० गते । गुरुङ (तमू) समाज मकाउ (सार) चीन द्धारा आज कास्कीको मादी गाउँपालिकाको वडा नं. १ साेंधामा रहेको बाढी प्रभावितहरुलाई राहत वितरण गरेको छ ।

गत असार पहिलो साता मादी नदीमा आएको बाढीले घर जग्गामा क्षति पुरयाएपछि अहिले सोंधाका ८ घर परिवार पूर्णरुपमा विस्थापित भएर स्थानिय दुध पोखरी मा.वि. सोंधाको भवनमा आश्रय लिइरहेको छ भने बाढीले सोंधा, तप्राङ, थाक, छाकचोकका गरि करिब ४९ घरमा क्षति पुरयाएको छ ।

उक्त प्रकोप प्रभावित स्थानियहरुलाई मकाउमा कार्यरत मादी गाउँपालिका र पोखरा महानगरपालिका वडा नं. १३ मा बसोबास गरि हाल मकाउमा कार्यरत युवाहरुको पहलमा राहत जुटाउन प्रयत्न गरेपछि उक्त अभियानमा गुरुङ (तमू) समाज मकाउले पनि साथ दिदा आज कुल ३ लाख ५१ हजार बराबरको राहत सामग्री त्यस भेगका स्थानियलाई बाड्न सफल भएको तमू (गुरुङ) समाज मकाउका निवर्तमान अध्यक्ष राजेश गुरुङले जानकारी दिनुभयो ।

हाल मकाउमा कार्यरत तमू (गुरुङ) समाज मकाउका वर्तमान अध्यक्ष लिलबहादुर गुरुङ (गोरे) सचिव मादी २ ताङतिङ निवासी भिम गुरुङ यस्तै मादी १ सोंधाका याम गुरुङ, टिकप्रसाद गुरुङ र नरेश गुरुङ तथा मादी ६ तप्राङ स्थाई घरभई हाल मकाउमा कार्यरत अमृत गुरुङको विषेश पहलमा उक्त रकम संकलन गरिएको हो ।

नेपालमा आज राहत वितरण कार्यक्रमलाई तमू समाज मकाउका सदस्यहरु टिकप्रसाद गुरुङ, लेखबहादुर गुरुङ, खरजंग गुरुङ लगायत समन्वय गर्नुभएको थियो । भने कार्यक्रम दुध पोखरी युवा क्लब सोंधाको व्यवस्थापनमा आयोजना गरिएको थियो ।

समाजले आज ४९ घर परिवारलाई चामल, कम्बल, नुन, तेल, दाल, मास्क लगायतको राहत सामग्री वितरण गरेको छ भने स्थानिय युवा क्लवलाई नगद ३० हजार, आमा समुहलाई बाढी पिडित तथा बस्ती संरक्षण कोषमा रहने गरि १ लाख ५५ हजार आर्थिक सहयोग समेत गरेको छ ।

कार्यक्रम गुरुङ (तमू) समाज मकाउका निवर्तमान अध्यक्ष राजेश गुरुङको नेतृत्वमा भएको थियो भने तमू समाज मकाउका सदस्य एवम सोंधाका स्थानिय बासिन्दा टिकप्रसाद गुरुङले सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । तमू समाज मकाउका अन्य सदस्यहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...