शिशिर पौडेल/पोखरा, १० साउन/लामो समयदेखि सडकको अभाव भोगिरहेका पोखरा—१९ घार्मीका जनताहरु पक्की सडक निर्माण हुने भएपछि हर्षित भएका छन् । ३२ वर्ष अगाडि नै कच्ची सडक बनाएका उनीहरु यस आर्थिक वर्षको बजेटमा सडक निर्माणका लागि बजेट विनियोजन भएपछि उनीहरु अब सडक कालोपत्रे हुनेमा आशावादी बनेका हुन् ।

जिल्लाबाट चुनियर गएका विभिन्न सभासदले आश्वासन दिएपनि सधैँ निराश हुने गरेका उपभोक्ताहरु अमलाविसौनी घार्मी आलेबारी ग्रामिण सडक राष्ट्रिय योजना आयोगको रातो पुस्तिकामा पहिलो नम्बरमा परेपछि भने अब ढुक्क भएका हुन् । सभासद कुमार खड्काले सडक निर्माणका लागि गरेको पहल सफल भएकोमा स्वंय सभासद खड्का पनि हर्षित हुनुभएको छ । स्थानियवासीले सभासद खड्कालाई धन्यवाद मात्र दिएका छैनन्, विकासप्रेमी नेता भन्दै थप विकासका योजनाहरु गाउँमा भित्राउन आग्रह गरेका छन् ।
त्यस्तै सभासद खड्काले सडक निर्माणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गर्दै, सडक उपभोक्ता समितिले सभासद खड्का, सरकार र राष्ट्रिय योजना आयोगप्रति धन्यवाद दिएको छ । समितिका सल्लाहकार एंव एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेल, समितिका अध्यक्ष धर्मराज आचार्य, सचिव डिल्लीराम पौडेल, अनुगमन समितिका कमलमोहन आचार्य लगायतले धन्यवाद ज्ञापन गरेका हुन् । केही दिन अगाडि सडक निर्माणमा पहल गरिदिन भन्दै उपभोक्ताहरु सभासद खड्का समक्ष पुगेका थिए ।
सोही अवसरमा उहाँले आफ्नो पहिलो प्राथमिकता नै सडक भएको भन्दै बजेट छुट्टिने र सरकारको प्राथमिकता पर्ने बताउनुभएको थियो । उहाँले भेट्न गएका उपभोक्तालाई विकासका लागि कसैलाई पनि काखा र पाखा नगर्ने समेत बताउनुभयो । सभासद खड्कालाई भेट्न सल्लाहकार पौडेल, अध्यक्ष आचार्य, सचिव एंव एमालेका स्थानिय नेता डिल्लीराम पौडेल, युवा व्यवसायी प्रमोद पौडेल, कमलमोहन आचार्य, पत्रकार शिशिर पौडेल, स्थानियवासी रामचन्द्र पौडेल सभासदकै निवासमा पुगेका थिए ।
सल्लाहकार पौडेलले सडक निर्माणलाई प्राथमिकता दिन सभासद खड्कालाई पटक पटक ध्यानाकर्षण गराउनुभएको थियो । आयोगको रातो पुस्तिकामा नै समावेश भएपछि उक्त सडक निर्माणका लागि अब वार्षिक रुपमा बजेट छुट्टिने भएको छ । केही महिना अघि मात्रै पोखरा उपमहानगरपालिकामा गाभिएको उक्त क्षेत्र ठूला दलका नेताहरुको बेवास्ताका कारण विकास निर्माणका योजनाबाट पछि पर्दै गएको छ । सभासद खड्ककै पहलमा कास्कीको लाहाचोक, अर्मला, मध्यमपथबाट तुलसीघाट जाने बाटो पनि आयोगको पहिलो प्राथमिकतामा परेको छ ।